उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिनपछि पहिलो पटक सार्वजनिक भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएको र गम्भीर अवस्थामा रहेको हल्ला चरिरहेका बेला उनी पुनः सार्वजनिक कार्यक्रममा देखापरेका हुन् ।
दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन् । सरकारी सञ्चार माध्यमले किम दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक भएका जनाएका छन् ।
समाचार संस्थाका अनुसार शुक्रबार (१ मे) एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन् । कार्यक्रममा किमसँगै उनकी बहिनी किम यो जङ पनि देखिएकी थिइन् ।
उनी सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर बिरामी परेका दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए । उनका आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा किमको अनुपस्थितिलाई आधार मनेर उनलाई अस्वस्थ भएको दाबी गरिएको थियो ।
उत्तर कोरियाली पात्रोमा उनका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उहाँ अघिल्ला वर्ष आफ्ना हजुरबुवाको चिहानस्थल पुग्ने गर्दथे । यस पटक भने अनुपस्थित भएकाले उहाँको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ला चलेको थियो ।
उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए । किम आफ्नो अति अनन्य मित्र भएको र सम्वन्ध राम्रो हुँदै गएको जानकारी पनि ट्रम्पले दिएका थिए । किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।
उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन् ।
किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?
उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ ।
शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उहाँले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पुर्याइएको पाइएको समाचारमा जनाइएको छ ।
यसअघि उनी गम्भीर रुपमा बिरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका थिए । तर पनि किम जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै किम सार्वजनिक रुपमा देखिएका छन् ।
यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उनी स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो । दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो ।
दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।
पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो । उनको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उहाँको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि उनी सार्वजनिक भएका थिए ।
प्रतिक्रिया