कोरोनाका कारण न्युयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु

कोरोनाका कारण न्युयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु


अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सबैको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

‘यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,’ न्युयोर्कका मेयर बिल डे ब्लासियोले भनेका छन् । एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनको भनाई छ ।

ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार (१ मई) मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको एपीले जनाएको छ ।

नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोना भाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक रहेको छ ।

अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सबैभन्दा अग्रस्थानमा पर्दछ । शनिबार दिउँसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिले पनि देशभरी नौ लाख चार हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ रहेको छ ।