किम सार्वजनिक भएको भोलिपल्टै दुई कोरियाको सीमा क्षेत्रमा गोली हानाहान

किम सार्वजनिक भएको भोलिपल्टै दुई कोरियाको सीमा क्षेत्रमा गोली हानाहान


उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको छ । दक्षिण कोरियाली उच्च सैन्य अधिकारीको हवाला दिएर एपीले जनाएअनुसार दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौँ राउन्ड गोली चलाएका थिए । जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको थियो ।

घटनापछि दक्षिण कोरियाको सेनाले जारी गरेको वक्तव्यमा गोली हानाहान भए पनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो । सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले उक्त हल्ला चलाएको बताइएको थियो ।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ ।