बजेट अधिवेशन वैशाख २६ मा आह्वान गर्न सिफारिस

बजेट अधिवेशन वैशाख २६ मा आह्वान गर्न सिफारिस


नेपाल सरकारले यही वैशाख २६ गते शुक्रबार बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आइतबार भएको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको अर्थमन्त्रीका सञ्चार संयोजक यमन पौडेलले जानकारी दिए ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधनअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो । जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ ।

नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो, तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको राससले जनाएको छ ।

पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।