जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप

जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप


जापानमा कोरोना भाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको त्यहाँको सरकारले सोमबार (४ मई) घोषणा गरेको छ ।

जापानमा गत महिना (७ अप्रिल) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनै लाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका हुन् । ‘मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझाब अनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छु,’ आवेले बैठकमा भनेका सिन्ह्वाले उल्लेख गरेको छ ।

सबै प्रशासनिक क्षेत्रमा यो लागु हुने र सङ्कटकालको पूर्वघोषणामा व्यवस्था भएका कुनै पनि बिषयलाई अर्को सूचना नभएसम्म खुकुलो नपारिने प्रधानमन्त्री आवेले स्पष्ट पारेका छन् ।

उनले भने– ‘कोरोना भाइरसविरूद्धको लडाइँका लागि आगामी कदम तयार पार्न एक महिना सङ्कटकाल लगाइएको थियो र अझै पनि आवश्यक देखिएकाले समय थप गरिएको छ ।’

उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गरेका छन् । भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

सङ्कटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ ।

अर्थतन्त्र पुनरूद्धार मन्त्री यासुतोशी निशीमुराले संसदमा बोल्दै भने, ‘कोभिड–१९ सङ्क्रमितका नयाँ विरामीहरू घट्ने क्रममा रहेको भएपनि सोचेअनुरूप तीब्र भएन । हामीले सङ्क्रमण दरमा थप कमी आउँदासम्म सामान्य जनजीवनमा फर्किनका लागि पर्खिनुपर्छ भन्ने विज्ञहरूको सुझाबअनुसार सङ्कटकाललाई लम्व्याउनुको विकल्प देखिएन ।’