‘मलामी’ले घेरिएको त्यो ‘इमारत’ !

‘मलामी’ले घेरिएको त्यो ‘इमारत’ !


  • आर.पी. पाठक

फाटेर घेरो मात्र बाँकी भएको टुप्पी नै देखिने टोपी, फाटेकै भोटो, खाली खुट्टामा मास र सखरको भारी बोकेका लावालस्कर भेढुङ्गाबाट (हालको नागार्जुन नगरपालिकामा पर्ने भीमढुङ्गा) प्रवेश गर्दैछ । कसैले अग्राखको दशहाते थाम बोकेका छन् । भारीको टुप्पोमा खाजासामलको पोको बोकेर श्री ३ महाराजको उर्दीमा सालिन्दा सहयोग लिएर ‘रैती’हरू महाराजको दरबार निर्माण स्थलतिर भेला भएका छन् ।

डाँडामाथि घाम तिरिर्र अस्ताउन लागेको छ । भारी बिसाउँदै भरियाहरू उत्साहले धोबीखोलाको किनारतिर आँखा लगाउँछन् । साथमा आएका मुखिया, द्वारे, जिम्मुवालहरूको अगुवाइमा दरबार निर्माणार्थ सहयोगस्वरुप लिएर आएको मास, सखर र अग्राखका थाम महाराजको भण्डारेलाई बुझाएर फर्किएका रैतीहरू मध्य कतिले त्यो ‘इमारत’को आकारप्रकार देखे होलान्, कसैले कल्पनासम्म नगरी ईहलीला नै समाप्त गरे । बाटोमा प्यास लाग्दा एक घुड्की पानी पिउँदा समेत भारीको सखर झिकेर मुख मिठो पारेर घाँटी भिजाएनन् होला तिनले । नाम्लाको पाताले डामेको तालुमा एकसरो टोपी लाउने हैसियत भएन, तर पनि महाराजको दरबार बन्ने खुसियालीमा रैती रमाए ।

‘उँधो लौरीबिना उँभो महाचीन, सत्रभाइको दरबार बन्यो खाली टिनैटिन’ भन्ने लोकभाखाको गीत तिनै रैतीको जनजिब्रोले उब्जाएको हो । आज तिनैका सन्तान–दरसन्तानको लागि त्यो दरबार प्रवेशमा भाँजो हालिएको छ । त्यो आलिसान इमारत जहिलेदेखि उभियो त्यही बेलादेखि नै त्यहाँ पसेर रजगज गर्नेले कहिल्यै जनताको भलो चिताएनन् । त्यहाँभित्र बुनिएका तानावानाले रैतीलाई हरदम माखेसाङ्लोमा मात्र हालिरह्यो । त्यो खुनी र कपटीहरूले घेरिएको ‘मधुशाला’ मात्र बनिरह्यो ।

फुलै फुलको मण्डपले सजाइएको चिता जसको निर्माणमा कैयौँ मालीहरूले आफैलाई आहुति दिए । त्यो चितामा आगो नलगाई पनि हुँदैन लगायो मुटु ढुक्क फुलेर आउँछ ! त्यस इमारतमा पश्चिमको गेटबाट देवताको प्रवेश गराइयो भने पनि दक्षिणतिरबाट दानव बनेर निस्कन्छ । त्यहाँ साँच्चिकै अघोरीहरूको बास छ । जहाँ जनताको विचारको बली चढाइन्छ । रगत मासुको पकवान बनाइन्छ । बोसोको धुप बालिन्छ हड्डीको सुप बनाइन्छ । अनि जोनिवाकर ह्विस्कीको साथमा अप्सराहरूले पस्कन्छन् । ज्युनारपश्चात् मानव नलीहाड बजाएर प्रधान अघोरी ताण्डव नृत्य गर्छ अनि अन्य सहयोगी अघोरीहरू पनि नाचमा ताल मिलाउँछन् । चेला–चपेटाहरू ताली मृदङ्ग बजाउँदै मानव–पकवानको भतेरमा रमाउँछन् । त्यो रावणले आजसम्म करोडौं जीवात्मालाई जिउँदै निलिसकेको छ । तै पनि बचेखुचेकाहरूलाई मायावी जाल फ्याँक्न खप्पिस छ ‘रावण’ ।

बाहिरपट्टि हमेसा एक हुल समर्थनमा जुलुस गरिरहन्छन् । अर्काे एक हुल बलीवेदीको झ्यालखानामा पस्छन् । कोही–कोही बाहिरै चित्कार गरिरहेका हुन्छन्, तर त्यो निर्भिकताका साथ चुपचाप उभिइरहन्छ । अरु रोइरहन्छन्, ऊ हेरिरहन्छ । कुनै पनि किसिमको मानविय संवेदनाले उसलाई छोएको छैन । उसको हालसम्मको रवैया हेर्दा भविष्यमा पनि छुने आशा गर्न सकिँदैन । त्यो सैयौँ वर्षदेखि यसरी नै चुपचाप हेरिरहेको छ ।

युगौँदेखि सीता हरिएर पुतलीबगैंचामा रोइरहेकी छिन् । हनुमानहरू रामको औंठी लिएर सीताकहाँ पुग्दैनन्, बरु सिधै रावणाश्रममा पुग्छन् । श्री ३ महाराजको पालादेखि आजसम्म धेरै विभीषणहरू जन्मिसके तर आजसम्म रावणहरूको मात्र ओहोरदोहोर भैरहेको छ । यसरी न लंका जलाइयो न त सीता महारानीले मुक्ति पाइन् ।

जुन भूतबंगलामा प्रवेश गरेपछि मानिस हमेसा सवुत बाहिर आइपुग्दैन । त्यो राक्षसी इमारतको ढोका रैतीका लागि हमेसा बन्दै रहन्छ । त्यहाँ ठूला–ठूला तेलको कराही बसालिन्छ र रैतीहरूको विचारको अचार बनाइन्छ, तेलमा तारेको मुटु–कलेजो गिदी चोपेर खाइन्छ अनि नानाथरीका तन्त्रमन्त्र फलाकिन्छ । त्यो भोजमा मायावी रावण कुम्भकर्ण इन्द्रजित् र कोही–कोही अप्सरा पनि आमन्त्रित हुन्छन् । युगौँदेखि सीता हरिएर पुतलीबगैंचामा रोइरहेकी छिन् । हनुमानहरू रामको औंठी लिएर सीताकहाँ पुग्दैनन्, बरु सिधै रावणाश्रममा पुग्छन् । श्री ३ महाराजको पालादेखि आजसम्म धेरै विभीषणहरू जन्मिसके तर आजसम्म रावणहरूको मात्र ओहोरदोहोर भैरहेको छ । यसरी न लंका जलाइयो न त सीता महारानीले मुक्ति पाइन् ।

सबै रामरुपी भेषधारी प्रवेशपछि रावणमा नै परिणत हुन्छन् । त्यो इमारत आफैं मायावी हो कि प्रवेश पाउनेहरूको नियत खोटो भएर हो अहिलेसम्म चाल पाउन कठिन भैरहेको छ । जबसम्म जनता इन्द्रजालमा पारङ्गत हुँदैनन् तबसम्म त्यो रहस्यमा नै सीमित भैरहने छ । लक्ष्मणहरू अहोरात्र खटेका छन् न त उनिहरू राम बन्न सक्छन् न त त्यो इमारतको हालत नै बदलिन्छ ? हेर्दा मनमोहक र लोभलाग्दो छ तर त्यसको अन्तर्हदय निन्दित र दिगमिगलाग्दो रहेछ र त आजसम्म रैती धोबीखोलाको किनारमा नै रोइरहेका छन् ।

त्यो चीरकालीन चिता न जलेर भष्मखरानी हुन सक्छ न त भूकम्पले नै पल्टन्छ ! हुन त त्यो जनताको रगत–मासुले उभिएको चिहान नभएको भए आजसम्म दुर्याेधन र रावणहरूले बास पाउने थिएनन् होला । कतै आमाको रगत पिएर, रैतीको आँसुले जिएर, काठको खुट्टाले उभिएर, सुन्निएर–मोटाएर, जारको उपदेश लिएर, जालन्धरलाई जलाएर खिर्राेको फल फलाएर, आफ्नो संस्कार र संकृतिलाई गलाएर, अमृतको बोटमा ऐंजेरु फलाएर, सीता–सावित्रीलाई अभिसाप लगाएर, आमाको छातीमा लात हानेर, जारपितालाई बाबु मानेर, जयद्रथलाई मानसपुत्र ठानेर कर्म गर्नेहरूले देशलाई खोक्रो पारेर परचक्रीको ढुकुटी भर्न कहाँ पाउँथे र ?

जनताका लागि त्यो भुतबंगला उहिल्यै मरिसक्यो । त्यसलाई चारहात वित्ताको कात्रोले बेरिसकेको छ । त्यस मृत अघोरीलाई मलामीहरूले घेरिसकेको छ । अब त्यसको जिउँदो लासलाई ब्रम्हनालमा सुताउन मात्र बाँकी छ । त्यसलाई बागमतीको पानीले नुहाएर एक घुड्की पारसको शिवलिङ्गको जल खुवाएपछि एकोहोरो शंख फुक्दै बुर्की छर्दै चितामा सुताउन मात्र बाँकी छ । श्मसानमा जल्दै गरेको त्यो कपटी इमारत र त्यहाँका हालिमुहालीवालाहरूको एकमुष्ठ मलामी जान रैती तयार भैसकेका छन् । फर्केर आउँदा जनता–जनार्दन बन्ने आश अझै मरिसकेका छैनन् । यो नश्वर देहमा एकमुट्ठी सास र एक थोपा रगत बगेसम्म त्यो आँट र उत्साहले मात्र हामी नेपाली बाँचिरहेका छौँ, कालान्तरसम्म बाँचिरहने छौँ । ‘म मरे पनि मेरो देश बाँचिरहोस् !’ अस्तु ।