चीनबाट आयात गरिएका सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै तातोपानी (सिन्धपालचोक)का स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल शुरु गरेको छ ।
स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए । अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मङ्गलबार (२३ वैशाख) काठमाडौं भित्र्याइएको छ ।
गत आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौं पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले पनि पुष्टि गरेका छन् । मङ्गलबार लसुनका तीन गाडी र स्याउका चार कन्टेनर सुरक्षाकर्मीको सहयोग लिएर काठमाडौं पठाइएपछि स्थानीयवासी असन्तुष्ट बनेका बताइन्छ ।
आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौं भनेपछि कन्टेनरहरु सहज रूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको सिन्धुपाल्चोक प्रजिअ खत्रीको भनाई छ । यसरी सल्लाह गरेर अघि बढ्ने भनी दिइएको बचनअनुसार सर्वपक्षीय छलफल शुरु भएको बुझिएको छ ।
प्रतिक्रिया