नेपाली भूमिमा सडक बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

नेपाली भूमिमा सडक बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन


नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । करिव तीन दर्जनको संख्यामा विद्यार्थीहरु राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर दूतावासअगाडि प्रदर्शन गर्न पुगेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले लकडाउन उल्लङ्घन गरेर प्रदर्शनमा उत्रिएकाले उनीहरुलाई पक्राउ गरिएको तर्क दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका बुझिएको छ । सो क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् । यसैक्रममा माइतीघर मण्डलमा कालो झन्डा लिएर विरोधमा उत्रिएका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका थिए ।

यसबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको जवाफ दिएको प्रसङ्ग यतिबेला चर्चामा छ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारप्रति ब्यङ्ग्य गर्दै भूमि मिचिएको कुरा सञ्चारमाध्यमबाट थाहा पाउने कस्तो सरकार भन्ने प्रतिक्रिया जनाएका छन् ।