मुटुको समस्याका कारण भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

मुटुको समस्याका कारण भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना


भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।

सिंह अस्पताल भर्ना भएका उक्त अस्पतालले पुष्टि गरेको एएनआईले जनाएको छ । सो समाचारको भारतीय कांग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुस भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मनमोहन सिंह ८७ वर्षका पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा. सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उनको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा. सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यसैबीच दिल्ली प्रदेशका मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन दिएका छन् ।