स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।
अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी र पछिल्लो समय उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केयर होमकी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार मारिया बाँच्न सफल भएको र अहिले उनको स्वास्थ्य अवस्था निकै राम्रो रहेको छ ।
तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो । उनको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताएकी छन् ।
एक जना कर्मचारीले यति दीर्घजीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले “म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु” भन्ने जवाफ दिएकी थिइन् ।
उक्त केयर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको बताइन्छ ।
मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उनी स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित छिन् ।
मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उनका स्पेनी बुबा अमेरिकामा पत्रकारिता गर्दथे ।
मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्केकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन् ।
स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् ।
प्रतिक्रिया