आज १९ सङ्क्रमित थपिए, देशभर ६ सय ३ जना संक्रमित

आज १९ सङ्क्रमित थपिए, देशभर ६ सय ३ जना संक्रमित


कोभिड–१९ को सङ्क्रमण आइतबार (११ जेठ) १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नयाँ संक्रमितहरु मोरङ, पर्सा, रौतहट, काठमाडौं, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।

नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ) बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले बताए ।

नुवाकोटमा पहिलापटक सङ्क्रमण देखिएको पनि डा. देवकोटाले जानकारी दिए ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ ।

नयाँ सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको उल्लेख गर्दै सङ्क्रमित जिल्ला ४२ पुगेको उनले बताए । कूल सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या अब ६०३ पुगेको छ, जसमध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् ।

प्रदेश नंं १ मा सात जिल्लाका ८६, प्रदेश नंं २ मा आठै जिल्लाका १७९, वाग्मती प्रदेशमा एघार जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।