शारीरिक सुगठन तथा फिटनेस संघले सरकारसँग गऱ्यो यस्तो राहतको आग्रह

शारीरिक सुगठन तथा फिटनेस संघले सरकारसँग गऱ्यो यस्तो राहतको आग्रह


नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लम्बिदो लकडाउनले जनजीवन असहज एवम् आक्रान्त बनेको र यसले गर्दा व्यायामशाला, हेल्थ क्लबलगायतका यससँग सम्बन्धित ब्यवसाय तथा व्यवसायीहरू पनि धरासयी हुने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरेको छ ।

बिहीबार (२२ जेठ) एक विज्ञप्ति जारी गर्दै संघले शारीरिक सुगठन तथा फिटनेससँग सम्बन्धित ब्यवसायलाई अँगालेर आफ्नो परिवार पाल्नुपर्नेहरूको जमात ठुलै रहेको र त्यसमा कार्यरत प्रशिक्षक, कर्मचारीहरूको अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वर्तमान विषम परिस्थितिको आज ७३ दिन पार गर्दासम्म पनि यस भाइरसको भ्याक्सिनलगायत ठोस औषधि–उपचार नभएको अवस्थामा हामी सम्पूर्णले यही धरातलमा रहेर कोरोनासँगै आफूलाई अभ्यस्त बनाउनु पर्ने बाहेकको अर्को विकल्प नरहेको उल्लेख गर्दै सङ्घले यो ब्यवसाय पनि साना तथा मझौला व्यवसायअन्तर्गत पर्ने स्पष्ट गरेको छ ।

नेपाल सरकारले साना तथा मझौला व्यवसायलाई ब्याज अनुदान राहत कार्यक्रम बजेटमा व्यवस्था भएअनुसार व्यायामशाला, हेल्थ क्लबहरूले समेत प्राप्त गर्ने नै छ भन्ने संघको ठहर रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘यो लकडाउनको अवधिको ऋणको ब्याजमा मिनाह दिने तथा व्यवसाय सुचारु गर्न अविलम्ब पहलकदम चाल्नको लागि यस संघ जोडदार माग गर्दछ । साथै सम्पूर्ण घरधनी महानुभावहरूमा यस व्यवसायको संरक्षण एवं टेवा प्रदान गर्नको लागि लकडाउन अवधिभरको घरभाडा छुट गरिदिनु भई यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगको लागि हार्दिक अपिल गर्दछौँ ।’

साथै, नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरूले आफ्ना सदस्यहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्न नेपाल सरकाले ठोस पहल कदम चाल्नको लागि पनि संघले अपिल गरेको छ ।