मापदण्डअनुसार क्वारेन्टिन सञ्चालन नहुँँदा अदालत गुहारियो

मापदण्डअनुसार क्वारेन्टिन सञ्चालन नहुँँदा अदालत गुहारियो


खगप्रसाद चापागाईं, कपिलवस्तु

मापदण्डअनुसार क्वारेन्टिन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेशको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

कपिलवस्तु मायादेवी गाउँपालिका ५ का सुनिलकुमार चौहान र कपिलवस्तु कृष्णनगर नगरपालिका ६ का अरुणेशकुमार उपाध्यायले मुद्दा दायर गरेका हुन् ।

मुद्दामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देहीसहित दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाइएको छ ।

विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा कपिलवस्तुका महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका छन् । त्यसैगरी रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै समरीमाई, मर्चवारी तथा मायादेवी गाउँपालिका विपक्षी छन् । सो मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो मुद्दाको सुनुवाइका लागि जेठ २३ का लागि पेशी तोकेको छ । मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतको कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्वारेन्टिन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ ।

यद्यपि प्रदेश ५ सरकारले भने कोभिड १९ को विरुद्धको काम कार्वाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ । कोभिडविरुद्धको अभियानमा सहयोग पुग्ने उद्देश्यले प्रदेश ५ सरकारले स्थानीय तह, जिल्ला समन्वय समितिहरुलाई बजेट नै पठाएको थियो । प्रदेश सरकारले प्रदेश स्तरमा कोरोना कोषको स्थापना गरी सयन्त्रहरु परिचालन गरिरहेको बताउँदै आएको छ ।