एन्फा अध्यक्ष शेर्पामाथि कारवाहीको माग

एन्फा अध्यक्ष शेर्पामाथि कारवाहीको माग


अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रही कारवाहीको माग गर्दै चार वटा जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका छन् ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित पत्रमा शेर्पा कारवाहीका लायक भएका व्यहोरा उल्लेख रहेको बुझिएको छ । ‘आवश्यक कारवाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने ब्यहोराको पत्र उपाध्यक्ष तिम्सिनालाई हस्तान्तरण गरिँदा भक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउँदै एकीकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।