काठमाडौं तेक्वान्दो कार्यसमितिद्वारा खेलाडीलाई सहयोग

काठमाडौं तेक्वान्दो कार्यसमितिद्वारा खेलाडीलाई सहयोग


काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौंभित्रका तेक्वान्दो खेलाडीलाई कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए ।

पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल र नुन प्रदान गरिएको थियो । कार्यसमितिका सचिव घिसिङ, कोषाध्यक्ष बब्लु शिवाकोटी र खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष अर्जुनभक्त राईको पहलमा कुल एक लाख ३६ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो ।

पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हङकङमा बस्दै आएका राजु खड्काले २० बोरा चामल र ७० प्याकेट नुन, त्यसैगरी हङहङकमा बस्दै आएका नेत्र तिमल्सिना र विमला पुनले १० बोरा चामल, हाल कतार बस्दै आएका टेकप्रसाद गोतामेले ५ बोरा चामल, स्वयम्भु निवासी समाजसेवी राजु शाक्यले ७० लिटर तेल र कार्यसमितिका कोषाध्यक्ष बब्लु शिवाकोटी, तेक्वान्दो खेलाडी प्रदीप कँडेल र तेक्वान्दो खेलाडी गोपाल भन्डारीले १ सय ४० किलो दाल प्रदान गरेका थिए ।

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले पहिलो चरण सहयोग गरिएको उल्लेख गर्दै लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताए ।