पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरू एकत्रित हुँदै

पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरू एकत्रित हुँदै


नेपालका पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरूले ग्लोबल नेप्लिज अर्गनाइजेसन संस्था गठन गरेका छन् । विश्वभरि छरिएर रहेका पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरुलाई एकत्रित तुल्याउन उक्त संस्थाको गठन गरिएको संस्थाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले जानकारी गराएका छन् ।

आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)का स्वर्ण पदक विजेता सु्रेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा गठित उक्त १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जनक राई, रामेश्वर श्रेष्ठ, आरके श्रेष्ठ (पहरी) रहेका छन् । त्यस्तै, महासचिवमा सरोज भट्टराई, सचिवमा मुकेश बरुवाल र कोषाध्यक्षमा सुनिता महर्जन श्रेष्ठ (सुष्मा) रहेका छन् ।

संस्थाको सदस्यहरूमा मकेन्द्रबहादुर सिंह, साजन मास्के, कृष्ण गुरुङ, लोकमान सिह, राजेश श्रेष्ठ, प्रशान्त कर्मा, फुर्वा तामाङ र कृष्ण केसी रहेका छन् । त्यस्तै प्रमुख सल्लाहकारमा सितोरियो करातेका जन्मदाता थानेश्वर राई रहेका छन् । अन्य सल्लाहकारहरूमा हेम पुन, आनन्दु लामा, रुपेश डंगोल, सुरेश वैद्य, सुधिर नेवा, लता लिम्बू र शैलेश प्रधान रहेको छन् ।

नवनिर्वाचित श्रेष्ठ नेपालका चर्चित कराते खेलाडी हुन् । श्रेष्ठले सन् १९९९ मा नेपालमा आयोजना भएको आठौँ साफमा स्वर्ण पदक जित्नुको साथै २००२ मा जापानमा आयोजना भएको विश्व कराते च्याम्पियनसिपमा कास्य पदक जितेर सनसनी फैलाएका थिए ।

त्यस्तै, श्रेष्ठले १९९१ मा भएको शिखर एसिएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपालको मान–सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पुर्याउन सफल भएका थिए । योबाहेक श्रेष्ठले नेपालको लागि थुप्रै अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् ।

राष्ट्रियस्तरका कराते प्रतियोगितामा सयौं स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका श्रेष्ठले सोही उत्कृष्ट प्रदर्शनकै कारण दुई पदक गोरखा दक्षिण बाहुबाट सम्मानित भैसकेका छन् । श्रेष्ठलाई तत्कालिन राजा वीरेन्द्रले सम्मानित गरेका थिए । श्रेष्ठले हाल क्यानडामा दुई वटा कराते डोजो संचालन गर्दै आएका छन् ।


त्यस्तै, कोषाध्यक्ष सुनिता महर्जन श्रेष्ठ (सुष्मा) करातेकी पुर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । सुनिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा तीन दर्जन भन्दा बढी स्वर्ण पदक जितेकी छन् । सुनिता हाल जापानमा प्रशिक्षण गराई रहेकी छन् ।

नेपालमा कराते खेलको समग्र विकास र विस्तारको लागि गठन भएको ग्लोबल नेप्लिज अर्गनाइजेसन संस्थाले विशेषगरी नेपालमा रहेका उत्कृष्ट तर कमजोर आर्थिक अवस्थाका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता दिन नसक्ने र खेलाडी, प्रशिक्षक र डोजोको स्तरोन्नती र विकासको लागि काम गर्ने जनाएको छ ।

त्यसको लागि नवगठित संस्थाले बिदेशमा रहेका कराते प्रशिक्षकबाट लेवी उठाउने कोषाध्यक्ष सुनिताले जानकारी गराएकी छिन् । यतिबेलामा विदेशमा कराते प्रशिक्षकहरू २ सय भन्दा बढी रहेको पनि सुनिताले खुलासा गरेकी छिन् ।

नेपालमा त्यस्ता खेलाडी, प्रशिक्षक र क्लवहरुको पहिचानगरि सहयोगको लागि सिफारिस गर्ने जिम्मेवारी पूर्व अन्तराष्ट्रिय कराते खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलाई दिइएको छ । महर्जन नेपाली काङ्ग्रेसका युवा नेता पनि हुन् ।