विद्युतीय सवारीमा लगाइएको करप्रति कांग्रेसको आपत्ति

विद्युतीय सवारीमा लगाइएको करप्रति कांग्रेसको आपत्ति


सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबार (२५ जेठ)को बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको औसतमा ११३ प्रतिशतसम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गरे ।

बैठकको प्रारम्भमै कांग्रेस सांसद आफ्नो स्थानमा उभिएपछि सभामुख अग्निप्रसाद सापकोटाले दिएको समयमा सांसद कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाए । यो सत्तारुढ दलकै घोषणापत्र विपरीत भएको जिकिर उनले गरे । यसअघि यही सरकारले विद्युतीय सवारीमा प्रोत्साहन नीति अघि बढाउनु र अहिले विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति भएको उनको दाबी रह्यो ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने सांसद कँडेलको धारणा थियो । वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले जोडदार माग गरे । नेपालले अन्तर्राष्ट्रिय रुपमा गरेको प्रतिबद्धताविपरीतसमेत यो व्यवस्था रहेको बताउँदै उनले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

यो पनि हेर्नुहोस् –
‘करमन्त्री’ खतिवडाद्वारा गरिएको अर्बौंको नीतिगत भ्रष्टाचारमाथि कारवाही गर्ने कसले ?