इन्टरनेशनल काता च्याम्पियनसीपको फाइनलमा पुगे रवीन्द्र

इन्टरनेशनल काता च्याम्पियनसीपको फाइनलमा पुगे रवीन्द्र


नेपालका कराते खेलाडी तथा प्रशिक्षक रवीन्द्र मानन्धर ‘सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२०’ को फाइनलमा प्रवेश गरेका छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाइन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्द्वीलाई पछाडि पार्दै मानन्धर ३५ देखि ४५ वर्ष उमेर समूह ‘ए’बाट फाइनल प्रवेश गरेका हुन् ।

उनले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनल यात्रा तय गरेका हुन् । अब उनले उपाधिका लागि फाइनलमा स्पेनका खेलाडीको सामना गर्नेछन् ।

विश्व कराते महासंघ र एसियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरी ४ विधामा प्रतिस्पर्धा गराइएको मानन्धर जानकारी दिए । नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् ।

विगत एक महिनादेखि संचालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतका राष्ट्रले सहभागिता जनाएका छन् । अन्य विधाको सेमिफाइनल सम्पन्नपश्चात फाइनल जुन १३ तारिखमा आयोजना हुने मानन्धरले जानकारी गराए ।

कोभिड–१९ बाट विश्व अक्रान्त भइरहेको अवस्थामा विश्वका बिभिन्न अन्तर्राष्ट्रिय खेल संस्थाहरुले अनलाइनमार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासील गर्दै आइरहेका छन् । त्यसै क्रममा विश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्बन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसीप आयोजना गरेको हो ।