नेकपाका नेताहरूलाई देउवाको धम्की !

नेकपाका नेताहरूलाई देउवाको धम्की !


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ‘एमसिसी’ अनुमोदनका निम्ति जुनसुकै कदम चाल्न तयार हुनुभएको जानकारी प्राप्त भएको छ ।

देउवाले एमसिसीलाई किन आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको हो बुझ्न सकिएको छैन, तर उहाँ यसनिम्ति कसैलाई धम्क्याउनेदेखि कुनै पनि स्तरको सम्झौता गर्नसमेत तयार रहनुभएको पाइएको छ ।

एमसिसी अनुमोदन गराउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आउनुभएका देउवाले पछिल्लो समयमा एमसिसीविरोधी नेताहरूलाई धम्क्याउनसमेत थाल्नुभएको छ ।

प्राप्त जानकारीअनुसार देउबाले झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचण्ड र भीमबहादुर रावललाई टेलिफोनमार्फत एमसिसी अनुमोदनमा सहयोग पुऱ्याउन आग्रह गर्दै नभए ठूलो समस्या पैदा हुने चेतावनी दिनुभएको छ । झलनाथ खनाल र माधव नेपाललाई एमसिसी अनुमोदन नगरिए देशमा सङ्कट आउने भन्दै चेतावनी दिनुहुने देउवाले प्रचण्डलाई चाहिँ ‘तपाईंमाथि नै सङ्कट आउने’ भन्दै थर्काउनुभएको बुझिएको छ ।

हिंसात्मक युद्धकालका बीभत्स घटनाबारे कुनै पनि बेला अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्ने भन्दै देउवाले एमसिसी पास नभए अमेरिकाको सहयोग तपाईंलाई हुन नसक्ने र तपाईंले ठूलो सङ्कटको सामना गर्नुपर्ने भनी प्रचण्डलाई बताउनुभएको थियो । जवाफमा प्रचण्डले ‘हामी छलफल गर्दैछौँ’ भनेका तर झलनाथले भने यसलाई जस्ताकोत्यस्तै अनुमोदन गर्न कुनै हालतमा पनि नसकिने भन्दै देउवालाई कठोर जवाफ दिनुभएको बुझिएको छ ।

नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम र प्रचण्ड जस्ताको त्यस्तै एमसिसी अनुमोदनको पक्षमा हुनुहुन्न । तर सरकार यति अगाडी बढिसकेको छ कि उ अब एमसिसी अनुमोदन नगराई पछि हट्न सक्ने अवस्थामा देखिँदैन ।

उता सभामुख रहेका माओवादी नेता अग्नि सापकोटा एमसिसी प्रस्ताव संसदमा प्रस्तुत गर्ने पक्षमा हुनुहुन्न । एमसिसी अनुमोदन नभएको अवस्थामा केपी ओली नेतृत्वको सरकार ढाल्न सहज हुने विश्लेषणका आधारमा सभामुख सापकोटा यसरी एमसिसी ‘फेल’ गराइदिन दृढ हुनुभएको बताइन्छ । जे होस्, नेकपाका निम्ति एमसिसी ‘आफ्नै वंशनासको यदुवंशी लडाइँ’को कारण बन्न सक्ने सम्भावना देखिएको छ ।