नाइजेरियामा आमनागरिकमाथि जिहादी आक्रमण, ६९ जनाको मृत्यु

नाइजेरियामा आमनागरिकमाथि जिहादी आक्रमण, ६९ जनाको मृत्यु


नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले जनाएको छ ।

हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए ।

एक जना वरिष्ठ सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी दिए ।

इस्लामिक स्टेट्स समूहसँग आबद्ध लडाकूहरुले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सांघातिक हमला गर्ने गरेका छन् । उत्तरपूर्वी नाइजेरियामा एक दशकदेखि जारी अतिवादी इस्लामिक आन्दोलनका कारण ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सन् २०१६ मा अर्को इस्लामिक समूह बोको हरामबाट टुक्रिएको पश्चिम अफ्रिकी इस्लामिक स्टेट्स समूहले पनि स्थानीयवासीमाथि निरन्तर आक्रमण गर्ने गरेको छ ।

यही समूहले विगत २ वर्षदेखि नाइजेरियाली सेनामाथि पनि आक्रमण गरिरहेको छ । पछिल्ला केही महिनादेखि यस समूहले आमनागरिकमाथि सांघातिक आक्रमण गर्न थालेको छ ।