अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैरनाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ अमेरिकाबाट पठाएको हो । समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ । सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम रहेका छन् । सल्लाहकारमा मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले टिमका संयोजक ब्यञ्जनकारलाई सिंहदरबारमा जेठ ३२ गते आइतबार चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले केहि हदसम्म भएपनि खेलाडीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
आईओएफटीसीले २०७२ सालको विनाशकारी भुकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो । आईओएफटीसीका संस्थापक एवं निर्देशक दिवाकर महर्जनले कोभिड– १९ को समस्या विश्वव्यापी भएकाले ठूलो मात्रामा सहयोग गर्न नसकिएको बताउदै थोरै भएपनि यसले खेलाडीलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताए ।
प्रतिक्रिया