‘कुरिम’ भाइरसको चपेटामा खेलकुद परिषद् !

‘कुरिम’ भाइरसको चपेटामा खेलकुद परिषद् !


विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा खेलकुदको प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद् भने ‘कुरिम’ भाइरसको चपेटामा परेको चर्चा राखेपका कर्मचारीहरूबीच चल्न थालेको छ । कोरोनाले विश्व त्रस्त भइरहेकै परिवेशमाा फेरि यो ‘कुरिम’ भाइरस कहाँबाट आयो भन्ने जिज्ञासा सबैमा जाग्नु स्वभाविक नै हुन आउँछ । वास्तवमा यो ‘भाइरस’ कोरोना जस्तो संसारभर फैलने नभई नेपालको खेलकुद क्षेत्रलाई मात्र कमजोर बनाउने ‘तत्व’ भएको सम्बद्ध कर्मचारीहरू बताउँछन् ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदका सीमित कर्मचारीहरूलाई विशेष स्वार्थवश आफ्नो हातमा लिँदै तिनै व्यक्तिहरूबाट खेलकुदमा ‘कुरिम’ भाइरसको संक्रमण फैलन पुगेको पीडित कर्मचारीले जानकारी गराएका छन् ।

आफुलाई ‘सर्वज्ञाता’ जस्तै ठान्ने सदस्यसचिव सिलवालले खेलकुदको सम्पूर्ण अधिकार परिषदभित्रको प्रशासन र आर्थिक विभागका अगुवा कर्मचारीहरूलाई सुम्पेपछि खेलकुदमा ‘कुरिम’ भाइरसको माहामारी फैलिएको पीडित कर्मचारीहरूको भनाई छ । साथै खेलकुदमा ‘कुरिम’ भाइरसको यस्तै प्रभाव रहने हो भने खेलकुद चाँडै ध्वस्त हुने भन्दै उनीहरूले चिन्ता प्रकट गरेका छन् ।

कोरोना भाइरसको अन्त्य नहुँदै राखेपमा अर्को ‘कुरिम’ भाइरसको सङ्क्रमण फैलाउन खोज्नु खेलकुदका लागि अर्को दुर्भाग्य बनेको छ । खेलकुदमा देखिएको यो भाइरसले अहिले सदस्यसचिव रमेशकुमार सिलवाललाई विस्तारै संक्रमित गर्दै पूर्ण रुपमा ‘बिरामी’ बनाउने कसरतमा लागेको खुलासा भएको छ । त्यस्तै कुरिम भाइरसले सरुवा रोगको जस्तै महामारीको रुप लिँदै राखेपका कर्मचारीहरू, राष्ट्रिय खेल संघ, सेवाग्राही तथा खेलसंग सम्बन्धित सबै निकाय, क्लबहरूलाई ब्यापक रूपमा चपेटामा पारेको पनि बताइन्छ ।

हालसम्म कोभिड–१९ संक्रमणको उपचारका लागि कुनै औषधि, भ्याक्सिन वा खोपको आविष्कार भएको छैन । यस्तो अवस्थामा सरकारले समेत सामाजिक दुरी कायम गर्नुपर्ने सन्देशसहित लकडाउन गरिरहेको छ । त्यस्तै, कुरिम भाइरसको संक्रमणको पनि कुनै प्रकारको उपचार विधि पत्ता नलागेसम्म सोबाट बच्न र रोग फैलिन नदिन खेलकुदमा पनि आवश्यक दूरी कायम गरिएको स्रोत बताउँछ ।

प्राप्त जानकारीअनुसार कुरिम भाइरस नियन्त्रणमा नआउँदासम्म आवश्यक दूरी कायम गर्दै आ–आफ्नो काम गर्ने, कुरिमको बाटोमै नआउने, मतभेद नगर्ने र आ–आफ्नो कार्यकक्षमै बस्ने, बाहिर ननिस्कने आदि उपायहरू अपनाइएको सुत्रले दाबी गरेको छ । तसर्थ खेलकुदमा कुरिम भाइरसको माहामारीबाट बच्न, संक्रमण फैलिन नदिन र रोकथाम गर्न अहिले सम्बन्धित निकायका व्यक्तिहरू एकजुट भएर सहकार्य गर्दै आएको बुझिएको छ ।

आखिर के हो त खेलकुदमा फैलिएको कुरिम भाइरस ?

अहिले खेलकुदमा कुरिम भाइरस फैलाउने प्रमुख तीन व्यक्तिहरूमा प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल र करार सेवामा कार्यरत सहायक द्वितीय स्तरका कर्मचारी मनोज खड्गी रहेको बताइन्छ । अहिले यी तीनै ब्यक्तिको नामको पहिलो अक्षरलाई एकठाउँमा जोडेर उच्चारण गर्दा ‘कुरिम’ शब्द बन्ने र यी तीनै जना खेलकुदभित्र भाइरस जसरी विभागीय कामलाई खल्बल्याउने या संक्रमणकारी कर्ममा लिप्त रहेकाले यिनकै नामबाट ‘कुरिम’ भाइरसको आविष्कार खेलकुदभित्र गरिएको हो । ‘कु’ अर्थात कुलबहादुर थापा (कु गर्ने, जथाभावी र मनपरी सरुवा गर्ने) त्यस्तै ‘रि’ अर्थात रिखिराम पोखरेल (रिस गर्ने, कर्मचारीको भए–नभएका कुरा सदस्यसचिवलाई लगाउने) र म अर्थात मनोज खड्गी (मलजल गर्ने, सदस्यसचिवको आडमा विपक्षी सिध्याउने) रणनीतिमा लागेको बताएका छन् ।

रमेशकुमार सिलवाल राखेपमा सदस्यसचिव भएर आएपछि प्रशासन प्रमुख बनेका कुलबहादुर थापाले यतिबेला सिलवाललाई चपेटामा पार्दै आफ्नो दुनो सोझ्याउँदै आएको कसैबाट छिपेको छैन । यसको लागि उनले आर्थिक प्रमुख रिखिराम पोखरेल र सदस्यसचिवको ‘झोले पीए’ मनोज खड्गीलाई आफ्नो प्रयोग गर्दै आएको राखेपका कर्मचारीको आरोप छ । अहिले यी तिनैजना मिलेर आफुप्रति विमति राख्ने र विपक्षीहरूलाई पाखा लगाउने खेलमा लागेको बुझिएको छ । सदस्यसचिव सिलवाल परिषद आउँदा एकछिन पनि नछोड्ने, कर्मचारीका सानातिना गल्तीलाई ठूलो बनाएर सदस्यसचिवको कान फुक्ने र सिलवालबाट गाली गर्न लगाउने थापाको अहिले दैनिकी नै बनेको छ ।

अहिले यो कुरिम भाइरसले आफ्नो पहिलो निसाना राखेप सचिवालयमा कार्यरत कर्मचारीलाई बनाएको पनि खुलासा भएको छ । उनीहरूमाथि संक्रमित हुँदै सचिवालयबाट हटाउनेसम्मको खेलमा लागेको पनि बुझिएको छ ।उनीहरूको पहिलो सिकार सचिवालयका प्रमुख बाबुकाजी श्रेष्ठ (विके) भैसकेका छन् । उनलाई कुरिम भाइरसको टोलीले सचिवालयवाट भक्तपुर सरुवा गरेको पनि परिषद स्रोतले बताएको छ । अहिले उनीहरू अन्य शाखाका कर्मचारीहरूमाथि पनि यसरी नै संक्रमित हुने र डाँडा कटाउने अभियानमा लागको बुझिएको छ । उनीहरूले यो खेल १३औँ सागदेखि खेलेको पनि ति कर्मचारीले बताएका छन् ।

यसरी सदस्यसचिव सिलवालको शक्तिको आडमा मुरिम भाईरसले खेलकुदमा ताण्डप मच्चाउँदा पनि सदस्यसचिव सिलवाल भने अनदेखि र अनुसुनी गरिरहेका छन् । उल्टै यही भाइरसको प्रभावमा परेर परिषदका इमान्दार कर्मचारीको हुर्मत लिने कार्य गरिरहेको सुनिनमा आएको छ ।