लगानीको वातावरण बनाउन परिसङ्घको आग्रह

लगानीको वातावरण बनाउन परिसङ्घको आग्रह


नेपाल उद्योग परिसङ्घले आर्थिक क्षेत्र चलायमान बनाई लगानी आकर्षित गर्न विद्यमान कानूनमा भएका व्यवस्थालाई सुधार गरी सरकारका तर्फबाट छिटोछरितो लगानीको वातावरण बनाउन आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग सोमबार भेट गरी सो सुझाव दिएको हो ।

कोभिड–१९ बाट सिर्जना भएको लगातारको लकडाउनका कारण एकातिर अधिकांश उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको र आर्थिक गतिविधि समेत प्रभावित भइरहेको परिसङ्घले जनाएको छ । महामारीको विषम परिस्थितिमा सरकारका तर्फबाट रोजगारीका क्षेत्र पहिचान र विस्तार गरी ठूलो मात्रमा रोजगारी सिर्जना गर्नु पर्ने टड्कारो आवश्यकता रहेको परिसङ्घले औँल्याएको छ ।

परिसङ्घले वेरोजगारीको अवस्थालाई मध्यनजर गरी औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहीत गर्न र विदेशी लगानी भित्र्याउन आर्थिक, उद्योग–व्यवसायसम्बन्धी विद्यमान कानूनमा रहेका झन्झटिला र असहज व्यवस्थालाई संशोधनखारेज/निलम्बन गरी लगानीको वातावरण निर्माण गर्न पनि सुझाव दिएको छ ।

परिसङ्घले उद्योगको लागि जग्गामा लगाइएको हदबन्दी र उद्योगको वन क्षेत्रको भोगाधिकारसम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । त्यसैगरी औद्योगिक वातावरण सिर्जना गर्न तीन दिनभित्र उद्योग स्वीकृतिको प्रक्रिया सकिने प्रावधान समेट्न पनि सरकारसँग आग्रह गरेको छ ।

आन्तरिक पूँजीलाई प्रोत्साहन गर्न कम्तिमा पाँच वर्षको समय तोकी महिला तथा बालबालिकाको नाममा बैंकमा जम्मा हुने रु १५ लाखसम्मको निक्षेप सहज माध्यमबाट बैंकसम्म ल्याउने व्यवस्था मिलाउन, दीर्घकालीन ‘बोण्ड’ जारी गर्ने र सो बोण्डमा गरिने लगानीलाई सहज गर्नुपर्ने, उक्त बोण्ड विदेशीले समेत खरिद गर्न पाउने व्यवस्था गर्न चेम्बरले सुझाव दिएको छ ।

भेटमा उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री पोखरेलले परिसङ्घको सुझावलाई सकारात्मक रुपमा लिई छलफलको माध्यमबाट कार्यान्वयनमा लैजाने प्रतिक्रिया दिएका परिसङ्घले जनाएको छ ।