रिहा भए माइतीघर मण्डलाबाट पक्राउ परेका अष्ट्रेलियन फिल्मकर्मी

रिहा भए माइतीघर मण्डलाबाट पक्राउ परेका अष्ट्रेलियन फिल्मकर्मी


■ राजन घिमिरे

यिनी हुन् फिल्ममेकर अष्ट्रेलियन नागरिक कालानी गाकोन । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा बसोबास गर्ने कालानी गत हप्ता काठमाडौंमा पक्राउ परे । उनी पक्राउ पर्नुको कारण थियो– नेपालको आन्तरिक मामिलाको भिडियो दृष्य आफ्नो क्यामेरामा कैद गर्नु ।

गत साता काठमाडौंको माइतीघरमा भएको जुलुसको भिडियो अनुमतिबिना खिचेको कारण उनी पक्राउ परेका थिए । शनिबार (१३ जुन) पक्राउ परेका यी अष्ट्रेलियन फिल्ममेकर सोमबार रिहा भएका छन् ।

कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले केही गर्न नसकेको भन्दै माइतीघर मण्डलामा युवाहरूले गरेको प्रदर्शनको भिडियो खिच्दा २४ वर्षीय कालानी गिरफ्तार भएका थिए । रिहा भएपछि उनले सबैलाई धन्यवाद दिएका छन् । उनले भनेका छन् ‘सबैको साथ, समर्थन र प्रार्थनाले हामी रिहा भएका छौँ । सबैलाई धन्यवाद दिन चाहन्छु ।’

यात्राका क्रममा आउने यस्ता उतारचढावका घटनालाई आफूले सहज रूपमा लिएको र अरुले पनि यस्तै सहजताका साथ लिन यी फिल्म मेकरले आग्रहसमेत गरेका छन् ।