टेलिकमको विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा

टेलिकमको विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा


कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि आफ्ना सेवाहरूमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ ।

कम्पनीले कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुने टेलिकमले जनाएको छ ।

सो कम्पनीले जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुने स्पष्ट गरेको छ भने आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड (Stay Connected) अफर भने कायमै रहने जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः २ महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी कम्पनीले एफटिटीएच (FTTH) सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच (FTTH) सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने सुविधा उपलब्ध गराइएको छ ।