‘मेरो खबरदार छ’

‘मेरो खबरदार छ’


■ होमनाथ घिमिरे

बोल्यौ के कसरी जित्यौ जनमतै दिन्छौ निकासा भनि ।
बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै पनि ।।
तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नयाँ राज छ ।
पार्दैछौ जननी कठै विपतमा मेरो खबर्दार छ ।।

फुक्यौ धेर घुमेर यो शहरमा गर्नेछु सेवा भनि ।
बोल्यौ धेर गएर ती विकटमा भर्नेछु टेवा भनि ।।
चौक्टा देश भयो शिकार भवको बाँडेर अन्तै तिर ।
हाम्रो राष्ट्र कतै परे सकसमा मेरो खबर्दार छ ।।

यो यो गर्छु भनी फुटाइ जनमा सारा तिनैको लुट्यौ ।
सारा एक ढिका थियो कपटले पारी चिरामा फुट्यौ ।।
ऐले खै कसरी भुलाइ सब ती निक्कै नयाँ चाल छ ।
हाम्रो देश कतै परे कहरमा मेरो खबर्दार छ ।।

हिँड्छौ लाज नभै न भो शरम ती बोल्छौ हजारौँ कुरा ।
तिम्रा चाल र ढालको लबजले भन्दैछ बेग्लै कुरा ।।
त्यै विश्वास गरेर घात मतको लाग्दैछ क्वै यार छ ।
हाम्रो देश पुगे कतै भवरमा मेरो खबर्दार छ ।।

सत्तामा कति थ्यौ अझै सब तिरै लुट्यौ लुटायौ कति !
आफ्ना पास छ जो उनै नगिचका बाँड्यौ बनायौ कति !!
मर्दैछन् जनता न क्वै पहुँचमा तिन्को कुनै आश छ ?
हाम्रो राष्ट्र लुटी लिने मनसुवा मेरो खबर्दार छ ।।

सारा मानिसले गमेर मनमा बुझ्दैछ बेग्लै कुरा ।
गर्दैछौ अपमान ती जनमतै चाखेर अर्कै पुरा ।।
हामी चैँ बँधुवा सधैं दल भने नाङ्गो रजाइँ न छ ।
दिन्नौ भो अधिकारमा कुटिलता मेरो खबर्दार छ ।।

सीमाको छ कुरा बडो गजबले हालेर छारो सब ।
सम्झौता कति ती छ गोप्य जनमा अन्यौल त्रस्तै अब ।
यो नेपाल अझै छिया अवनिमा कुन्नि के चाल छ ?
मैले दिन्न नगर्नु जाल रचना मेरो खबर्दार छ ।।