विदेशी नागरिकले चलखेल गर्दा एन्फामा विवाद

विदेशी नागरिकले चलखेल गर्दा एन्फामा विवाद


■ श्रीविक्रम भण्डारी

अखिल नेपाल फुटबल संघ (एन्फा)मा विदेशी नागरिक नवीन पाण्डेको चलखेल र हस्तक्षेपकारीले भूमिकाले पछिल्लो समय एन्फा विवादमा तानिएको छ । नेपाली नागरिकता त्यागेर जर्मनीको नागरिकता लिएका पाण्डेले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट आफ्नो व्यक्तिगत स्वार्थपूर्ण नभएपछि एन्फालाई विवादमा ल्याउने कार्य गरेको स्रोतले जनाएको छ ।

आफ्नो स्वार्थसिद्धिका लागि पाण्डेले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेवाङलाई हतियार बनाए स्रोतले दाबी छ । प्राप्त जानकारीका अनुसार पाण्डेले उपाध्यक्ष नेवाङलाई केही महिनाभित्रै एन्फाको कार्यवाहक अध्यक्ष बनाइदिने भन्दै अध्यक्ष शेर्पाविरुद्धको मोर्चामा सामेल गरेको बुझिएको छ । नेवाङलाई आफ्नो मोर्चामा सामेल गर्ने क्रममा पाण्डेले मेरो अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ भन्दै थुप्रै ‘ललिपप’ देखाएको पनि खुलासा भएको छ ।

म विदेशी हुँ, जर्मनी नागरिक हुँ, यसर्थ म विदेशी भएकोले फिफा र एएफसीसँग मात्र नभै अन्य युरोपेली राष्ट्रहरुसँग पनि मेरो सुमधुर सम्बन्ध छ । यसको फाइदा उठाउनु पर्छ, तपाई एन्फाको कार्यवाहक अध्यक्ष बन्नुपर्छ भन्दै एन्फामा भाँडभैलो मच्चाउन पाण्डे प्रयासरत रहेको बुझिएको छ । पाण्डेको देखाएको यो ललिपपमा नेवाङजस्तो जिम्मेवार पदाधिकारी कसरी आकर्षित भए र लोभी नजर लगाए, त्यो आफैमा सोचनीय कुरा बनेको छ ।

को हुन् पाण्डे, र फुटबलसँग उनको के नाता छ ? यो स्पष्ट हुनु जरुरी छ । सर्वप्रथम एन्फका अध्यक्ष शेर्पा अध्यक्ष रहेको हिमालयन शेर्पा क्लवमा म्यानेजरको रुपमा नवीन पाण्डे भित्रिएका थिए । त्यसपछि शेर्पा र पाण्डेबीच घनिष्ठता बढेको थियो । दुई वर्ष हिमालयन शेर्पा क्लबमा म्यानेजरको रुपमा काम गरेका पाण्डेले शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष भएपछि आफुलाई एन्फामा अफिसियल राखि दिनु पऱ्योे भनी अनुरोध गरेका थिए ।

त्यसपछि अध्यक्ष शेर्पाले ०७५ साल बैशाख २३ गते पाण्डेलाई भोलेन्टियरको रूपमा काम गर्ने सर्तमा एन्फामा भित्र्याएका थिए । एन्फामा चार महिना अर्थात् साउनसम्म काम गरेका पाण्डेले त्यसपछि आफ्नो स्वार्थसिद्ध नभएपछि एन्फा छोडेका थिए । स्मरणीय छ, पाण्डेलाई शेर्पाले एन्फामा भित्र्याउँदा थुप्रै एन्फामा पदाधिकारीहरुले उनको विरोध गरेका थिए । र पनि, अध्यक्ष शेर्पाले व्यक्तिगत रिस्क लिँदै उनलाई एन्फामा भोलेन्टियरको जिम्मा दिएको स्रोतले खुलासा गरेको छ ।

अमेरिकन टीटीआई कम्पनीमा काम गर्ने पाण्डेले एन्फाको चार महिनाको बसाईको अवधिमा चार पटक विदेश भ्रमण गरेका थिए । जसमा उनले विश्वकपदेखि फिफा काङ्ग्रेसमा सहभागिता जनाउन सफल भएका थिए । सो भ्रमणमा उनले एकजना सञ्चारकर्मीलाई पनि लगेको स्रोतले जनाएको छ । अहिले एन्फालाई विवादित बनाउन पाण्डेले तिनै सञ्चारर्मीलाई प्रयोग गर्दै नुनको सोझो गराई रहेको स्रोतले खुलासा गरेको छ ।

प्राप्त जानकारी अनुसार पाण्डे एन्फामा हुँदा एन्फा अन्तर्गतका सम्पूर्ण फुटसलका कार्यक्रमहरू आफूमातहत लैजाने प्रयास गर्दै फुटसलको डाइरेक्टरमा बद्री भट्टराईको नाम सिफारिस गरेका थिए । किनकि पाण्डेकोे फुटसलमा ठूलो लगानी रहेको स्रोतले जनाएको छ । तर एन्फा अध्यक्ष शेर्पाले पाण्डेको यो स्वार्थमा पानी फेरिदिएपछि उनीहरूबीचको सम्बन्धमा धाँजा परेको थियो । त्यस्तै पाण्डेले डेनमार्कको प्रशिक्षक ल्याउन खोज्दा र केम्ली कम्पनीसँग विनालगानीमा पार्टनरसिपमा बस्न खोज्दा त्यसलाई पनि अध्यक्ष शेर्पाले खारेज गरेपछि उनीहरुको सम्बन्धमा पानीबारबार भएको थियो ।

त्यस्तै, एन्फामा भोलेन्टियर भएर बस्दा पाण्डेले अनावश्यक दबाब दिएको स्रोतले खुलासा गरेको छ । प्राप्त जानकारीका अनुसार पाण्डेले राष्ट्रिय फुटबल टीममा आफ्नो मान्छे घुसाउन खोजेको, महासचिव इन्द्रमान तुलाधरदेखि पूर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन उपेन्द्रमान सिंह र बालगोपाल महर्जनलाई पनि हटाउन विभिन्न हतकण्डा मच्चाएको स्रोतले खुलासा गरेको छ ।

एन्फा अध्यक्षसामु आफ्नो कुनै दाल नगलेपछि पाण्डेले एन्फा छोडेका थिए । यसपछि फिफा र एएफसीमा अध्यक्ष शेर्पाको विरुद्धमा पत्राचार गर्ने, सञ्चारकर्मीलाई मिस युज गरेर समाचार लेख्न लगाउने र पछि त्यसको अङ्ग्रेजीमा ट्रान्सलेट गर्दै अन्तर्राष्ट्रिय निकायमा पठाउने कार्य गर्दै आएको स्रोतको दाबी छ ।

अब प्रश्न उठ्छ, विदेशी कम्पनीमा काम गर्ने, नेपाली नागरिकता त्यागेर जर्मनी नागरिकता लिएको व्यक्ति किन र कुन उद्देश्यका साथ नेपाली फुटबलमा चलखेल गरिरहेको छ ? त्यो अहिले आम फुुटबल प्रेमीहरुको चासोको विषय बनेको छ । एउटा विदेशी नागरिकले जिल्ला जिल्लाका फुटबल समितिहरूलाई फोन गरेर एन्फाको बर्तमान नेतृत्वको विरुद्ध भड्काउँदै आउँदा समेत सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले मौनता साँध्नु विडम्बना भएको छ । तसर्थ यस्ता गैरनेपाली नागरिकले एन्फामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दा कस्तो कारवाही हुन्छ, त्यसको छिनोफानो हुनुपर्ने अपरिहार्य भएको छ ।