पूरै वित्तीय क्षेत्र ‘झापाली’ कब्जामा

पूरै वित्तीय क्षेत्र ‘झापाली’ कब्जामा


मुलुकको वित्तीय निकायहरूलाई माफियाको शैलीमा कसरी कब्जामा लिइएको छ भन्ने रोचक तर दुःखद तथ्य फेला परेको छ । वित्तसँग सम्बन्धित देशका विभिन्न निकायहरूलाई एउटा व्यक्तिले यसरी कब्जामा लिएको दृष्टान्त सम्भवतः संसारमा अन्यत्र कतै देखिँदैन । तथ्यहरूले नेपालको कुनै पनि वित्तीय निकायको प्रमुख तथा सञ्चालक बन्न तीनवटा पक्ष हुनुपर्ने अनिवार्यता गरेको दर्शाएको छ ।

संस्थाको अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालक बन्नका निम्ति पहिलो शर्त युवराज खतिवडाको आफ्नो मानिस हुनुपर्ने, दोस्रो सकेसम्म झापानिवासी र नभएर सुदुरपूर्वेली हुनुपर्ने तथा तेस्रो राष्ट्र बैंकबाट सेवा निवृत्त भएको हुनुपर्ने देखिन्छ । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका युवराज खतिवडा स्वयम् झापानिवासी हुन् भने उनले नेपाल राष्ट्र बैंकका गभर्नर बनाएका महाप्रसाद अधिकारी पनि झापाकै भएको बताइन्छ । अहिले अधिकारीलाई गभर्नर बनाइएको भए पनि युवराज खतिवडा आफैंले गभर्नरको भूमिका निर्वाह गरिरहेका छन् र महाप्रसाद अहिले डिपुटी गभर्नरझैँ काम गर्दैछन् ।

नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि शिवाकोटी पनि झापानिवासी नै हुन् । राष्ट्र बैंकको सञ्चालकमा युवराजले आफ्ना गुरु डा. श्रीराम पौडेल र आफ्नो खास हितैषी डा. सुवोधकुमार कर्णलाई नियुक्त गरेका छन् । कृषि विकास बैंकको अध्यक्ष बनाइएका लक्ष्मी प्रपन्न निरौला मोरङका हुन् र उनी नेपाल राष्ट्र बैंकबाट सेवानिवृत्त कर्मचारी हुन् । सो बैंकको कार्यकारी प्रमुखमा भने माधवकुमार नेपालका भाइ अनिलकुमार उपाध्याय रहेका छन् । नेपाल बैंक लिमिटेडमा अध्यक्ष बनाइएका कवि वासुदेव अधिकारी पनि राष्ट्र बैंकका सेवानिवृत्त कर्मचारी हुन् भने उक्त बैंकको कार्यकारी प्रमुख कृष्णबहादुर अधिकारीचाहिँ झापानिवासी हुन् ।

राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाएर युवराजले अर्थमन्त्रालयका विश्वासप्राप्त सहसचिव निर्मलहरि अधिकारीलाई पठाएका छन् भने कर्मचारी युनियनका पूर्वनेता संखुवासभानिवासी किरण श्रेष्ठलाई वाणिज्य बैंकको सिइओ नियुक्त गरेका छन् । वाणिज्य बैंकको सञ्चालक समितिमा युवराजले सबै आफ्ना विश्वासप्राप्तहरूलाई राखेका छन् । राष्ट्र बैंकका पूर्वकर्मचारी चिरञ्जीवी चापागाईंलाई वीमा समितिको अध्यक्ष बनाइएको छ भने मोरङका राजु रमण पौडेललाई वीमा समितिको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ ।

वीमा समितिको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी नेता वसन्त पाण्डेको चयन भएको छ । त्यसैगरी राष्ट्र बैंकका पूर्वकर्मचारी मोरङनिवासी भीष्मराज ढुङ्गानालाई धितोपत्र बोर्डको प्रमुख बनाइएको छ । त्यसैगरी इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्षमा विमल कोइरालालाई हटाएर युवराज खतिवडाले विवादास्पद विशाल गु्रपका अनुज अग्रवाललाई नियुक्त गरेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी झापानिवासी डा. रामचन्द्र भट्टराईलाई नागरिक लगानी कोषको अध्यक्ष बनाइएको छ । कोषको सञ्चालकमा राष्ट्र बैंकका कर्मचारी एवम् आफ्ना छोरीज्वाइँ डा. रामशरण खरेललाई युवराजले चयन गरिदिएका छन् । कर्मचारी सञ्चय कोषको अध्यक्षमा युवराजले आफ्नो खास मानिस रामशरण पुडासैनीलाई अध्यक्ष बनाइदिएका छन् भने तुलसी गौतमलाई कार्यकारी निर्देशक बनाइएको छ ।

यस्तै, संखुवासभाका किरण श्रेष्ठ सञ्चय कोष सञ्चालक समितिका सदस्य छन् । विराटनगरका शङ्कर रायमाझीलाई युवराजले पुनर्विमा कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेका छन् भने आफ्ना निकटका नरेश अर्याललाई ऋण असुली न्यायाधीकरण र कपिल ज्ञवालीलाई सामाजिक सुरक्षा कोषको जिम्मा लगाएका छन् । त्यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारीहरू देवकुमार ढकाल र मुकुन्द क्षेत्रीलाई युवराज खतिवडाले स्टक एक्स्चेञ्जको सञ्चालक सदस्य नियुक्त गरेका छन् ।

यसरी पूरै वित्तीय क्षेत्र झापाली (सुदुर पूर्वेली) र राष्ट्रबैंकका पूर्व कर्मचारीहरूको जिम्मा लगाएर युवराज खतिवडाले आफ्नो कब्जामा लिएका छन् । यतिबेला नेपालको अर्थतन्त्र एवम् वित्तबजार इतिहासकै सर्वाधिक सङ्कटग्रस्त बन्न पुगेको छ र, कोरोनाको आगमन हुनुभन्दा अगाडि नै युवराजको सोच र कार्यशैलीका कारण अर्थ बजार ओरालो लाग्न थालिसकेको थियो ।

यसरी अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेको भए पनि त्यसको जिम्मेवारी कोरोनालाई दिएर आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयास खतिवडाले गरिरहेका छन् ।