– पुनहरि बेल्बासे
विषय प्रवेश
कथाकार कपिल लामिछाने नेपाली साहित्यमा चिरपरिचित नाम हो । २०३४ सालमा भारतको बनारसबाट प्रकाशन हुने ‘कल्याणी’ पत्रिकामा ‘कामना’ शीर्षकको कविता प्रकाशन गरी साहित्यिक यात्रा सुरु गरेका लामिछाने २०४४ सालमा अणु साहित्यिक पत्रिकामा ‘कुप्रथाहरूको देश’ नामक लघुकथाबाट लघुकथा क्षेत्रमा झुल्किएका देखिन्छन् ।
लामिछानेले कविता, कथा, एकाङ्की, समालोचना, लोकसाहित्य र बालसाहित्य विधामा पनि कलम चलाएका छन्, तर साहित्य लेखनको प्रारम्भिक चरणमा कविता विधा भए पनि उनले लोकप्रियता भने कथा विधामा हासिल गरेका छन् । पाश्चात्य जगतमा हल्लीखल्ली मनोविश्लेषण सिद्धान्तलाई कथामा प्रयोग गरेर मान्छेका बाह्य विशेषता केलाउने गरेका लामिछानेका कथामा पाइन्छ । हालसम्म उनका अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साइ (२०६९) र विस्थापन (२०७५) गरी चारवटा लघुकथासङ्ग्रह प्रकाशित छन् । यहाँ उनको विस्थापन लघुकथा–सङ्ग्रहभित्रको ‘मनको लड्डु’ लघुकथाको संरचनात्मक अध्ययन गरिएको छ ।
कथावस्तु
६१ वटा लघुकथा समावेश गरी प्रकाशन गरिएको ‘विस्थापन’ लघुकथा–सङ्ग्रहमध्येको नवौँ क्रममा सङ्गृहीत ‘मनको लड्डु’ एघार अनुच्छेद एकचालीस पङ्क्तिहरूमा संरचित छ । यसले लघुकथाको संरचनालाई अङ्गीकार गरेको छ ।
नेपाली जनताले राजतन्त्र अस्वीकार गरी राजगद्दीलाई परित्याग गरिसकेपछि लोकतन्त्रको आगमन सँगसँगै नेताहरूले राज्य सञ्चालनको लागि आफूभित्रको शक्तिलाई प्रयोग गरी भागबण्डा लगाउने प्रथाको विकास भएको राजनीतिक परिवेशमा वर्णित छ । पात्रको रूपमा राजनीतिक दलका शीर्ष नेताहरू, पार्टी अध्यक्ष र एक वृद्ध सदस्य रहेका छन् । राजतन्त्रको अन्त्यपछि राज्यको पुनःसंरचना गरी संघीय गणराज्य निर्माण गरी राज्य सञ्चालनका साथै इतिहासमा नाम राख्नको लागि नेताहरूमा मनोभावात्मक रूपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र मुख्यमन्त्री हुने होड चलेको छ । ऐस–आरामको लागि सङ्घीयता ? यो राम्रो भएन भन्ने फरक मत राख्ने एक वृद्ध सदस्यलाई हातखुट्टा भाँचेर भित्तामा झुन्डाइएको छ भने टाउको अध्यक्षको टेबुलमा सजाइएको छ । संघीयता अस्वीकार गर्ने सदस्यलाई भागबण्डा लगाउँदा शहीदको पद दिइएको छ । गोप्य रूपमा बैठक बस्छ, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र मुख्यमन्त्री हुने होड चलिरहन्छ । बैठकमा पदको लागि कुरा नमिलेपछि हानाहान सुरु भएको हुन्छ । लामो समयसम्म बैठक समापन नभएपछि बाहिर सुरक्षार्थ खटिएका पार्टीका कार्यकर्ताले ढोका खोलेर हेर्दा कसैका हातखुट्टा भित्तामा झुण्डिएका, कोही रगताम्य भई भुइँमा ढलेको देख्छन् । अध्यक्षले प्रथम राष्ट्रपति लेखिएको बिँडो लगाएका हुन्छन् ।
राज्यलाई पुनः संरचनामा लैजाने प्रस्ताव आउनु र पदको लागि प्रमुख दलले पद पाइने भएपछि स्वीकार गर्नु कथानकको आदि भाग हो । संघीय गणराज्यको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्रीको भागबण्डा लागिरहेको बेलामा फरक मत राख्ने वृद्ध सदस्यलाई कुटपिट गरी शहीद बनाउनु र बैठक कक्षभित्र हानाहान गर्नुसम्मको घटनाक्रम कथानकको मध्य भाग हो भने सुरक्षार्थ खटिएका पार्टीकार्यकर्ताले ढोका खोलेर हेर्दा हातखुट्टा बाँचेर भित्तामा झुन्डाइएको र रगताम्य भई भुइँमा बेहोस तबरले ढलेका सदस्य, प्रथम राष्ट्रपतिको स्वरूपमा पार्टी अध्यक्ष देखिनु कथानकको अन्त्य भाग हो ।
पात्र वा चरित्र
यस लघुकथामा प्रमुख पात्रको रूपमा प्रमुख दलको अध्यक्ष रहेका छन् । संघीय गणराज्यको प्रथम राष्ट्रपति हुनको लागि फरक मत राख्ने सदस्यलाई शहीद बनाउने कुटिल चरित्रको पात्र हो । सहायक पात्रको रूपमा एक वृद्ध सदस्य रहेको छ भने सुरक्षार्थ खटिएका पार्टी कार्यकर्ता, प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यको मुख्यमन्त्री पद माग्ने नेताहरू गौण पात्र हुन् ।
उद्देश्य
कुनै पनि कृति उद्देश्य बिना रचना भएको हुँदैन । ‘मनको लड्डु’ लघुकथा लेखनको उद्देश्य नेपालको राजनीतिको क्षेत्रमा व्याप्त रहेको पदीय भागबण्डाका लागि हुने लडाइँलाई यथार्थपरक रूपमा पाठकसमक्ष प्रस्तुत गर्नु रहेको छ । यस लघुकथाको माध्यमबाट देशमा सच्चा इमान्दार नेता पनि छन्, तर इमान्दार नेता तथा जनहितमा बोल्ने नेता अनायासै शहीद हुनु परेको छ भन्ने कुरा देखाउन खोजिएको छ । साथै यस लघुकथाका माध्यमबाट सच्चा र इमान्दार नेतालाई सबैले समर्थन गर्नु पर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
परिवेश
‘मनको लड्डु’ लघुकथामा परिवेश हेर्दा सहरिया परिवेश अझ भन्नुपर्दा संसद भवनको चित्रण गरिएको छ । समसामयिक परिवेशलाई हेर्दा मुलुकमा राजतन्त्रको अन्त्य भइसकेपछि संघीय गणराज्यको पुनः संरचनाका लागि राजनैतिक परिवेशमा आधारित छ । ‘ए आफूहरूले पदको लागि बाँडफाँड गरी ऐस आराम गर्नको लागि पो तिमीहरू संघीयताका कुरा गर्दा रहेछौँ (पृ.२२) ।’ यसबाट संसद भवनबाट बोलिएको परिवेश प्रतिबिम्बित भएको छ ।
भाषाशैली
‘मनको लड्डु’ लघुकथामा प्रयोग गरिएको भाषाशैली नितान्त सरल, सहज र बोधगाम्य रहेको छ । कथामा समाजका विकृति र विसङ्गतिलाई यथार्थपरक ढङ्गमा व्यङ्ग्यात्मक तथा नाटकीय शैलीको प्रयोग भएको छ । उदाहरणको लागि ः देशलाई संघीय गणराज्य बनाउन पाए कति आनन्द हुन्थ्यो । म सङ्घीय गणराज्यको पहिलो राष्ट्रपति । अर्कोले भन्यो– म उपराष्ट्रपति (पृ.२२) ।
दृष्टिबिन्दु
यस लघुकथामा तृतीय पुरुष पात्रको प्रयोग भएको छ । पार्टी अध्यक्ष अन्य नेता र पार्टी कार्यकर्ता प्रयोग गरिएको दृष्टिबिन्दु रहेको छ ।
निष्कर्ष
लामिछाने विगत चार दशकअघिदेखि नेपाली साहित्यमा सक्रिय हुँदै आएका छन् । अहिलेको समयमा मानिसहरूलाई साहित्यिक कृतिको आस्वादन गर्न फुर्सद छैन । छोटो समयमा चोटिलो रचनाको आस्वादन गर्ने माग दिनानुदिन बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै लघुकथाकार लामिछानेले समय, देशगत परिस्थिति, राजनैतिक, सामाजिक भेदभाव, मानवीय पीडा र आक्रोश, बिद्रोह एवम् समाजका विविध गतिविधि र विसङ्गत यथार्थलाई विषयवस्तु बनाएर लेखिएको यस लघुकथाले पाठकहरूका मनमा राम्रो प्रभाव पारेको छ ।
प्रतिक्रिया