अमेरिकाको राजधानी वासिङ्गटन डिसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको दुईवर्षे जागिरका लागि नेपाल राष्ट्र बैंकका कर्मचारीबीच प्रतिस्पर्धा हुने गर्छ । उक्त अवसर केही वर्ष बिराएर मात्र आउने भएकाले त्यहाँ जाने मौका पाउनेले झण्डै दुई करोड रूपैयाँ चोखै कमाउँछन् भनिन्छ । आकर्षक तलब–भत्ताका साथै शान–सौकत पनि हुने भएकाले आकाङ्क्षी छनौटमा गभर्नरसमेत यदाकदा राजनीतिक दबाबमा पर्ने गरेका छन् ।
आफू गभर्नर छँदा अर्थमन्त्री युवराज खतिवडाले प्रचलित मान्यता मिचेर छोरीज्वाइँ रामशरण खरेललाई त्यहाँ पठाएका थिए । आकाङ्क्षी वरिष्ठ निर्देशकहरूलाई पन्छाउँदै खतिवडाले बैंकका तत्कालीन कनिष्ठ उपनिर्देशक तथा ज्वाइँ खरेललाई पठाएका हुन् । त्यसैको सिको गरेर निवर्तमान गभर्नर चिरञ्जीवी नेपालले पनि उपनिर्देशक सरहको कर्मचारी रञ्जना पण्डितलाई डेढ वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोषको जागिरमा पठाइदिए ।
आफूले खरेललाई पठाउँदा गभर्नरको ‘विशेष अधिकार’को व्याख्या गरेका खतिवडाले पण्डितलाई पठाएपछि विभिन्न माध्यमबाट गभर्नर नेपालको हुर्मत लिने गरी आलोचना गरेको स्रोतले बताएको छ । ‘कुनै क्षमता नभएकी महिलालाई मुलुक र केन्द्रीय बैंकको प्रतिष्ठा जोडिएको ठाउँमा किन पठाइयो ?’, त्यसबेला अर्थमन्त्री खतिवडाले गरेको आलोचना उल्लेख गर्दै स्रोतले भनेको छ– ‘न अर्थशास्त्रको ज्ञान, न पीएचडी, न अधिकृतमा बैंक–प्रवेश, त्यस्तो महिला कर्मचारीको छनोटले आईएमएफमा गएका यसअघिका प्रतिनिधिको समेत मानमर्दन हुने भयो ।’ यसअघि खतिवडाकै ज्वाइँ खरेल गएका थिए ।
तर खतिवडाको निम्ति विडम्बना नै भन्नुपर्छ ! पीएचडी गरेका आफ्ना ज्वाइँको क्षमताभन्दा अहिलेकी पण्डितले सबैलाई देखाइदिएकी छन् । अन्तर्वार्ताबाट बैंक सेवामा प्रवेश गरेका खरेलले २३ वर्षसम्म कुनै पनि आन्तरिक परीक्षा उतीर्ण नगरी सुसराको आडमा बढुवा खाएका हुन् ।
खरिदारसरहको पदबाट २४ वर्षअघि बैंक सेवामा प्रवेश गरेकी रञ्जनाले चारवटा आन्तरिक लिखित परीक्षा पास गरेकी छिन् । यतिखेर उनी अधिकृत प्रथमको लिखित परीक्षा उतीर्ण गरेर अन्तर्वार्ताको लागि छानिएकी छिन् । यहि असार २४ गते अन्तर्वार्ता तोकिएको छ ।
तर, लकडाउन र कोरोनाको कारण उनी तत्काल नेपाल आउन सक्ने अवस्थामा नभएको भनिए पनि चार्टर्ड उडानबाट आजभोलि नै काठमाडौं उत्रँदै छिन् । प्रजातान्त्रिक विचारधाराकी पण्डितका श्रीमान् राजेन्द्र पण्डित पनि बैंकमा दुई वर्षअघिसम्म निर्देशक थिए । गभर्नरको कार्यालयमा सञ्चालक समितिको सचिवमा कार्यरत उनलाई गभर्नर नेपालले भाइसरह स्नेह गरेकाले रञ्जनालाई ‘बुहारी’को हैसियत दिइएको बताइन्छ ।
गत वैशाखमा मन्त्रालयमा काजमा झिकाइएका अर्थमन्त्रीका ज्वाइँ खरेलमाथि हालैको बजेट भाषणअघि चकलेट र विद्युतीय सवारी साधनमा गरिएको राजश्व दर फेरबदलको सूचना चुहाएको आरोप लागेको छ । अहिले बैंकमा मौद्रिक नीतिको तर्जुमामा पनि उनी हर्ताकर्ता बनेका छन् । बजेटमा झैँ मौद्रिक नीति पनि सार्वजनिक हुनुअघि नै महत्वपूर्ण सूचना चुहिने आशंका गरिएको छ । तर, बैंक नेतृत्वले अर्थ मन्त्रालयलाई खुशी पार्न त्यस्ता सूचना र जानकारीप्रति कुनै चासो दिएको देखिँदैन ।

प्रतिक्रिया