अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध मुद्दा


पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको आयोगको दाबी छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । बताइए अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत रु एक करोड दुई लाख ७४ हजार ७३९ बराबरको रहेको छ ।

यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको रु एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै ललितपुरको कोन्ज्योसोम गाँउपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध रु १५ लाख ५७ हजार ९८२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।