‘एनडिएच’ मसला बजारमा

‘एनडिएच’ मसला बजारमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालमा बिदेशमा उत्पादन भएका मसलाको बजार हिस्सा आधाभन्दा बढी छ । विदेशमा उत्पादन भएर नेपालको बजारमा एकछत्र जस्तो राज गर्दै आएका मसला उत्पादक कम्पनीलाई नेपालबाट विस्थापन गर्ने उद्देश्यले एक युवाले एनडिएच मसला उद्योग खोलेका छन् ।

ती युवा हुन् कमल सिंह । उनको मसला उद्योगले उत्पादन गरेका उपज अमेरिका, युरोपका सबै देश, जापान, अस्ट्रेलियासम्म निर्यात गरिरहेको छ । ‘यो नेपालकै सबैभन्दा ठूलो मसला उद्योग हो, दक्षिण एसियाका देशमा यसको जति उत्पादन क्षमता भएका अरु मसला उद्योग छैनन्’- एनडिएचका सञ्चालक सिंहले घटना र विचारलाई भने ।

बजारमा माग भएको खण्डमा दैनिक २० टनसम्म मसला उत्पादन गर्ने क्षमता उद्योगमा रहेको उनको भनाइ छ । यहाँ मिट, चिकेन, सब्जी, छोइला, सेकुवासमेत ५० बढी प्रकारका मसला उत्पादन हुने गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्यसमेत रहेका सिंहले २०७३ देखि राजधानीको चाबहिलमा यो उद्योग सञ्चालन गरेका हुन् ।

‘मूलत: नेपाली उत्पादनलाई प्राथमिकता दिन र बिदेशबाट आएका मसलालाई बिस्थापन गर्ने उदेश्यले उद्योग सञ्चालनमा ल्याएको हुँ’- उनले भने । विदेशी मसलाको एक छत्र राज भइरहेको समयमा नेपालमा मसला उद्योग बन्द नै गराउन भन्दै केही विदेशी कम्पनीहरू सक्रिय रहेको पनि बताइन्छ । नेपालमा मसला उत्पादन नहोस् भन्ने विदेशीको खेल सधैं भइरहेको र विदेशी गुणस्तरहीन मसला नेपाली बजारमा यत्रतत्र किनबेच भइरहँदा पनि अनुगमन पनि प्रभावकारी नभएको नेपालमा मसला उत्पादन गर्ने उद्योगका सञ्चालकहरूको भनाइ छ ।

नेपालमा आवश्यक पर्ने मसला आन्तरिक उत्पादनबाट पुगेर विदेश निकासी गर्न पनि सकिने भन्दै त्यसतर्फ सरकारले ध्यान दिन सकेको खण्डमा मसलामा देश आत्मनिर्भर बन्ने सिंहको बु्झाइ छ । युवाहरू दिनदिनै विदेश जाने र देशको कृषि योग्य भूमी बाँझै रहने अहिलेको समयमा मसलामा मात्र आत्मनिर्भर बनाउने योजना ल्याउने हो भने धेरै युवालाई देशमै रोजगारी मिल्ने सिंहले आफ्नो धारणा सुनाए ।