शारीरिक सुगठनका खेलाडीले खोले ‘दालभात’ रेष्टुरेण्ट

शारीरिक सुगठनका खेलाडीले खोले ‘दालभात’ रेष्टुरेण्ट


सनत आचार्य

पछिल्लो समय मुग्लिङमा अत्याधुनिक सुविधासम्पन्न ‘दालभात पावर रेस्टुरेण्ट एण्ड बार’ नामक भोजन गृह सञ्चालनमा ल्याइएको छ ।

बन्दाबन्दीको कठिन समयमा भएकै उद्योग–व्यवसाय पनि सञ्चालन गर्न नसकी व्यवसायीहरू अन्योलमा परेको बेला उत्सायी युवा विजय रानाले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

यही २०७७ असार ३ बाट सञ्चालनमा ल्याइएको उक्त होटलमा मुग्लिङ क्षेत्र हुँदै यात्रा गर्ने जो–कोहीलाई सफा, शुद्ध र स्वादिष्ट भोजन उपलब्ध गराउने र आफ्नो १५ वर्षे जापान बसाइको व्यावसायिक अनुभवलाई स्वदेशमा उपयोग गर्ने सोचअनुसार मुग्लिङमा यो व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालक रानाले बताए ।

पृथ्वी राजमार्ग र मदन–आश्रित राजमार्गको मुग्लिङ क्षेत्रलगायत अन्य विभिन्न स्थानमा दालभात खुवाउने होटलहरू भएता पनि ग्राहकको खास चाहनाअनुसारको शुद्ध र मिठो खाना खुवाउने स्थान अभाव रहेको महसुस गरेर आफूले मुग्लिङमा आधुनिक सुविधायुक्त होटलको शुरुवात गरेको विजय बताउँछन् ।

दालभात भोजन गृहमा विभिन्न नेपाली परिकारहरू उपलब्ध रहेको जानकारी दिँदै खानालगायत मःम, चाउचाउ, थुक्पा बन्ने र टेक अ–वे सुविधासमेत रहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि आफूहरूले डिसइन्फेक्सन प्रविधिमा जोड दिएको विजय बताउँछन् । होटलमा छिर्ने जो–कोही ग्राहकलाई कर्मचारीले हातमा सेनिटाइजर दल्न लगाउने र त्यसपछि मानिसको अगाडि–पछाडि फर्केर जुत्ता चप्पलदेखि पूरै शरीरमा डिसइन्फेक्सन गर्ने गरेको जानकारी उनले दिए । त्यसपछि ग्रहकलाई साबुनपानीले मिची–मिची हात धुन लगाउने गरिएको सञ्चालक विजयको भनाई छ ।

यति मात्र नभई होटलमा आउने ग्राहकका लागि बीचका टेबुलमा बस्न नमिल्ने गरी भौतिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको छ ।

पोखराका शिशिर पौड्यालले पोखराबाट काठमाडौंसम्म यात्रा गर्दा धेरै होटलहरूमा खाना खाएको तर ‘दालभात’को खाना र सेवाबाट आफुू निकै प्रभावित भएको बताए ।

त्यस्तै पोखराका अर्का एक यात्रु दिनेश देवकोटाले आफू दालभातको खानाबाट सन्तुष्ट रहेको उल्लेख गर्दै गर्मीको मौसममा एसीको व्यवस्थासमेत भएकोले यो गर्मी समयमा आनन्दले खाना खान खान ‘दालभात’मा छिर्ने गरेको सुनाए ।

मुग्लिङ चोकबाट पोखरातर्फ जाने सडकको पूर्वी किनारमा रहेको दालभात पावर रेष्टुरेण्ट एण्ड वारको दालभात पावर पेजबाट समेत अर्डर गर्न सकिने व्यवस्थापक बताउँछन् ।

राना सन् २०१४ मा जापानको टोकियोमा आयोजित शारीरिक सुगठन प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल खेलाडी पनि हुन् ।