■ तिलक पौडेल
लुतो लैजा, लुतो लैजा सतमकोटे भीर्कोटे उईई..!
पूजा सकिएपछि बुवाले दक्षिण दिशातिर फर्केर उल्लिखित बमोजिम कराउँदै, बल्दै गरेको अगुल्टोलाई घुइँक्याउनु हुन्थ्यो । हामीले रमाइलो मानेर ताली मार्थ्यौं, औंला मुखभित्र हालेर सुसेल्न जान्नेले सिठी मार्थ्यौं । यै समयको आहरिसले हामीलाई सुसेल्न सिक्ने लोभ जगाउँथ्यो ।
त्यसैगरी पूर्वतिर फर्केर लुतो लैजा, लुतो लैजा सतमगाम्ले, मडुवाली भन्नुहुन्थ्यो भने उत्तरतिर फर्केर लुतो लैजा, लुतो लैजा बाँगे, बाङ्सिङ्, सेपते भन्दै अगुल्टा हुर्याउनु हुन्थ्यो । पश्चिमतिर फर्केर लुतो लैजा, लुतो लैजा कार्किनेटे, थुमाले भनेर अगुल्टा फाल्नु हुन्थ्यो । सबै वरिपरिका गाउँघरहरुले पनि यही रीतले राँका फाल्ने हुँदा यो सग्राँतिलाई ‘राँके सग्राँति’ पनि भन्ने गरिन्छ । सबैका आँगनमा एउटै समयमा आगो बालिने हुँदा बिजुलीबत्तीको व्यवस्था नभएको तिनताका जताकतै झलमल्ल उज्यालो भए झैं लाग्दथ्यो ।
वास्तवमा असार मसान्तको भोलिपल्ट अथवा भनौं साउनको पहोलो दिन झुल्केपछि हामी स्कूलबाट कतिखेर घर गई लुतो फाल्ने सामान जुटाउन पाउँला भन्ने व्यहोराले मन व्याकूल गराउँथ्यो । अन्तिमतिरका पिरियड नपढी भागेरै हिंड्ने भएकाले सरहरुको निगरानी पनि त्यसदिन सदाभन्दा कम्ती हुन्थ्यो । कदाचित् सरले देखिहाले पनि ‘लुतो फाल्न भाग्यौ कि क्या हो ?’ भनेर हास्नु हुन्थ्यो । हुनपनि कक्षा खाली भए आफूले पनि पढाउन नपर्ने हुँदा सरहरुलाई पनि रमाइलै हुँदोरहेछ । यो व्यहोरा, पछि आफैं शिक्षक हुँदा अनुभव भयो ।
कुनैपनि तरिकाले स्कूलबाट घर आउँदै गर्दा बाटैमा सिहेको भीरबाट अम्लिसो जम्मा गर्थ्यौं भने बान्ना(पर्खालका चरहरुबाट मकरकाँजी, प्याउली जस्ता चीजहरु सम्हाल्दै आइन्थ्यो । त्यो दिन अर्नीरखाजा खाने भोक पनि लाग्दैनथ्यो । घर पुगेर आफूले ल्याएका चीजहरु आमालाई देखाउँदा– ‘स्यावास ! मेरो छोराले यति ल्याएछ, अब साथीहरुसँग जाऊ र अरु पनि खोजेर ल्याऊ है ! फेरि भीरमा चढ्दा लोटौला नि ! होश गर्नु है !’ भन्नुहुन्थ्यो । आमाको यो प्रसन्नाभिव्यक्तिले झोला पींडिमै फालेर साथीहरुबीच को पहिला भेला हुने भन्ने होडै चल्दथ्यो ।
लुतो नफालेसम्म निउवा, आरु, मेवा जस्ता नयाँ फल खान हुँदैन भन्ने मान्यताले समाजलाई नै अनुशासनको एउटा सीमामा अनुबन्धित गराएको थियो । हरिया मकै पनि खानहुने भएपछि बुवाले तीनवटा बुटा जरैसित उखेलेर ल्याई नागको थानमा ‘लौ सिमे-भूमे, जल-थल, आकाश-पातालका जाने-नजानेका देवी-देउताले चाख्नु होला, अब नयाँ अन्न हामीले पनि खान शुरु गर्यौं, यसले सबैलाई स्वस्थ, हृष्टपुष्ट रहन मद्दत पुर्यावोस्, कसैलाई कुनै रोग व्याधि नलागोस् परमेश्वर ‘’ भन्दै नाग-नगिनी-भयँरका नाउँमा चढाएपछि मात्र सबैले खानपाइने प्रचलन थियो ।
जेहोस्, साथीहरु जम्मा भई अरलीको काँढा लिन सपौंदेको पाखामा जान्थ्यौं । नामै काँढा ! जतनसँग लिएर घर आउन पनि सकस हुन्थ्यो । अनि रातो बाटुल्पाते लिन खेतारका पछाडि बौलाहीका गरातिर जान्थ्यौं भने कुकुरढाइनु (जनबोलीमा कुपुढ्याइनु) खोज्न खाल्टीको पाखामा जान्थ्यौं । तरुल, गीठाका जस्ता पातहुने कुकुरढाइनु चिनेका साथीले सबैलाई एकुन्टा पात टिपेर ल्याउँथे । लुतेझार, कुरिलो, कुरकुरे, काली निउरो, धोविनी फूल, पानी अमला खोज्न चौतारेको खरबारी, छहराको भीरतिर जान्थ्यौं । फर्कंदा लेतेको खोल्सामा पानीसरोका पात जम्मा गरेर घर आउँथ्यौं । त्यतिबेलासम्ममा बुवाले तुलसीको मठ वरिपरिको रोल सफा गरी ठूलो केराको पात ल्याएर अघि मैले जम्मा पारेका चीजहरु त्यसैमा राखिसक्नु भएको हुन्थ्यो । काँढैसितका निउवा, सुन्तला, हाँगैसितका आरु, सिउँडीका काँढा, बाँसका पात पनि बुवाले जम्मा पारी सक्नु भएको हुन्थ्यो । मलाई मुहानेगराबाट दुईटा रोपो उखेलेर ल्याउन अह्राउँदा चङ्गाजस्तै हलुङ्गो तनमन ! एकैसासमा गएर ल्याउँथें । अब भने मलाई चाँडै साँझ परे हुन्थ्यो जस्तो लाग्दथ्यो । बुवाले चारदिशातिर फाल्ने अगुल्टा तयार पार्न दाउरा चिरेर आमालाई अगेनामा सल्काउन लगाउँदा र घाम बाङ्सिङ्का डाँडामा पुग्दा मनै फुरुङ्ग भएर आउँथ्यो ।
बुवाले भैंसी दुहेर हातखुट्टा धोइसक्दा आमाले फूल अक्षता तयार पारिसक्नु हुन्थ्यो । साँझ टलेर अँध्यारो भएपछि बुवाले बलिरहेका अगुल्टा लिएर अघि-अघि, नाङ्लो ठटाउँदै आमा पछि-पछि र हामीहरु कराउँदै र सुसेल्दै आँगनमा निस्कन्थ्यौं । बुवाले बलेका अगुल्टाहरु मिलाएर राखी सर्सिउँ पड्काउनु हुन्थ्यो । वारिपारिका गाउँघरहरुमा पनि कराउँदै, हाइहुई गर्दै बलेका अगुल्टा बाहिर ल्याउँदा वरिपरिको वातावरणै रोमाञ्चक प्रतीत हुन्थ्यो । बुवाले केराका पातमा दिउँसो जम्मा पारिएका चीजहरुमा फूल अक्षताले के-के गुनगुनाउँदै पूजा गर्नुहुन्थ्यो ।
पूजा सकिएपछि पहिलो अनुच्छेद बमोजिम अगुल्टासँगै लुतो फालिन्थ्यो । साना अगुल्टा फाल्न इजाजत माग्दा बुवाको स्वीकारोक्तिले मनै प्रफुल्ल हुन्थ्यो र जानीनजानी ‘लुतो लैजा, लुतो लैजा ‘’ भन्दै कतैतिर मैले पनि अगुल्टा मिल्क्याउँथें । यो क्रम सकिएपछि बुवाले टीका लगाई पाकेका आँपको प्रसादरनैवेद्य दिनुहुँदै ‘माघे सग्राँति भनेको चैत, बैशाख महिनाको गर्मीका कारणले कुनैपनि सरुवारोगको महामारी फैलने सम्भावना हुने हुनाले ‘मरिन्छ कि ?’ भनेर मनाइन्छ भने साउने सग्राँति भनेको महामारी फैलिने सम्भावना भएका महिनाहरुमा पनि मरिएन भनेपछि ‘अब बाँचियो !’ भनेर मनाउने गरिन्छ । बर्खामासको हिलोमा काम गर्दा कतै घाउ लागेको, त्यही फोहोरका कारण केटाकेटीहरुमा खटिरा निस्किएको सञ्च होस् भनेर मनोवैज्ञानिक त्राण स्वरुप यो सग्राँतिलाई लुतो फाल्ने सग्राँतिका रुपमा पनि मनाइने गरिएको हो’ भनी हामीलाई बुझाइदिनुहुन्थ्यो । र पो साउने सग्राँति हुन्थ्यो !
‘सके सपारौं, नसके नबिगारौं‘
हामी सबैको कल्याण हवोस् !
प्रतिक्रिया