स्पोर्टस् साइन्समा विद्यावारिधि गरेका लामिछानेद्वारा सदस्यसचिवमा उम्मेदवारी

स्पोर्टस् साइन्समा विद्यावारिधि गरेका लामिछानेद्वारा सदस्यसचिवमा उम्मेदवारी


राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि स्पोर्टस् साइन्समा विद्यावारिधि (पिएचडी) गरेका अच्युतम् लामिछानेले युवा तथा खेलकुद मन्त्रालयमा सदस्यसचिव पदका लागि निवेदन दर्ता गराएका छन् । अहिलेसम्म सदस्यसचिवका लागि दुई महिलासहित ११ जनाको निवेदन परे पनि विद्यावारिधि गरेको व्यक्ति भने लामिछाने मात्रैै छन् । लामिछाने स्पोर्टस् साइन्समा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् ।

४३ वर्षीय लामिछानेले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयवाट स्नातक, स्नाकोत्तर र विद्यावारिधि गरेका छन् । साथै लामिछानेले सन् २०१२ देखि २०१६ सम्म राष्ट्रिय खेलकुद परिषदअन्तर्गत स्पोर्टस् साइन्स एकेडेमी (शान) सातदोबाटोमा खेल विज्ञको रूपमा चार वर्ष कार्य गरिसकेका छन् । लामिछाने तेक्वान्दोका ब्ल्याकबेल्टसहित चार डान पनि हुन् ।

स्पोर्टस् साइन्स एकेडेमी (शान) मा आवद्ध रहँदा खेलकुदको आधारभूत विकास नभएको र खेलकुदको नीति–सिद्धान्तभित्र रहेर खेलकुदको गतिविधि सञ्चालन नभएको लामिछानेको दाबी छ । प्रायःजसो राजनीतिक दबाबमा रहेर निर्णय गरिने हुँदा त्यसमा सुधार गर्न आफूले सदस्यसचिवको उम्मेदवारमा निवेदन दिएको बताए ।

लामिछानेले सदस्यसचिवको लागि उम्मेदवारी दिँदा समग्र खेलकुदको विकास ‘राष्ट्रिय खेलकुद विकास परियोजना’को खाका बनाएर कार्यपत्र निवेदनका साथ पेस गरेका छन् । रिसर्च गरेर दिन नपाए पनि नेपाल सुहाउँदो वैज्ञानिक ढङ्गले तयार पारेर आफुले कार्यपत्र दिएको लामिछाने बताए । लामिछाने ‘राष्ट्रिय खेलकुद विकास परियोजना’ सम्बन्धी ६५ पेज लामो कार्यपत्र पेस गरेका छन् ।

आफुले निवेदनसहित कार्यपत्र मन्त्रालयमा बुझाउँदा समितिका पदाधिकारीले यो लेवलको उम्मेदवारी र कार्यपत्र आउँछ भन्ने विश्वास नलागेको भन्दै सकारात्मक धारणा राखेको लामिछानेले बताए । साथै तपाईंजस्तो व्यक्तिको खेलकुदमा खाँचो र चाहिन्छ पनि भनेको लामिछाने सुनाए ।

म सदस्यसचिवको लागि योग्य व्यक्ति हुँ, तर म सदस्यसचिव नहुँदा पनि खासै फरक पर्दैन । म खेलकुदलाई माया गर्ने व्यक्ति भएकोले यदि म सदस्यसचिवमा चयन नहुँदा पनि राज्यलाई खेलकुदको विकासको लागि काम लागोस भनेर ६५ पेज लामो कार्यपत्र पेश गरेको लामिछानेले प्रस्ट पारे ।

सदस्यसचिवको उम्मेदवारीको लागि निवेदन दिने अन्तिम मिति साउन १ गते बिहीबार (आज) सम्म रहेको छ । अहिलेसम्म निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले सदस्यसचिवको लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।