भैरहवा भन्सार कार्यालयमा ३३.६९ प्रतिशत राजश्व कमी

भैरहवा भन्सार कार्यालयमा ३३.६९ प्रतिशत राजश्व कमी


पुनहरि बेल्बासे, भैरहवा

नेपालको दोस्रो ठूलो भन्सार भैरहवा भन्सार कार्यालय रुपन्देहीमा आर्थिक वर्ष ०७६÷७७ को असार मसान्तसम्म लक्ष्य भन्दा ३३ दसमलव ६९ प्रतिशतले राजश्व संकलनमा कमी आएको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ र चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

चालू आवको असार मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाखको लक्ष्य दिएको थियो । एक वर्ष अवधि पूरा भइसक्दा भैरहवा भन्सार कार्यालयले ७० अर्ब २९ करोड ३ लाख मात्र राजस्व संकलन गरेको छ । जम्मा ६६ दशमलव ३१ प्रतिशत मात्रै राजश्व उठेको हो ।

कोरोनाको महामारीबाट देशभर लकडाउन भएसँगै भन्सार कार्यालयको राजश्व संकलनमा पनि प्रभावित भएका कारण राजस्व संकलन लक्ष्यअनुरुप पुग्न नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए ।

सूचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार ‘लकडाउनको समयमा दैनिक राजश्व असुली १६ करोड रुपैयाँको हाराहारीले गिरावट आएको छ । लकडाउन हुनुभन्दाअघि दैनिक २४ करोड रुपैयाँसम्म राजश्व संकलन हुँदै आएको थियो, लकडाउनपछि असुली दर घटेर ८ करोडमा सीमित भएको छ’, उनले भने, ‘यसले पनि असुली दर धेरै गिरावट भएको हो ।’

तथ्यांकअनुसार लकडाउन भएयता बेलहिया नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट आयात हुने डिजल पेट्रोल, औद्योगिक कच्चा पदार्थ, मोटर पार्ट्स, हार्डवेयर, मोटरसाइकल, एमएस विलेट, ग्लेज टाइल, मार्बल स्ल्याव, पत्थर कोइला, सिंगल क्याव पिकअप गाडी, खरानी स्याल्याव, तयारी कपडा, जर्दाखैनी, रेफ्रिजेरेटर, ग्लाससिट, डोजर स्काभेटर, मिनी ट्रक, जिप, कार, भ्यान, क्लिंकर, विद्युतीय जेनेटर, माइक्रो बस लगायतको आयातमा निकै गिरावट आएको छ ।