राखेप सदस्यसचिवको सिफारिस सोमबारसम्म हुने

राखेप सदस्यसचिवको सिफारिस सोमबारसम्म हुने


  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदको भाबी सदस्यसचिवको सिफारिस यही साउन ५ गते सोमबारसम्म हुने सिफारिस समितिका सदस्य रिम रानाभाटले घटना र विचारलाई जानकारी गराएका छन् । सकेसम्म साउन ४ गते नभए सोमबार (५ साउन) समितिले आफ्नो कार्य सम्पन्न गर्ने रानाभाटले बताए ।

सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पठाउनुपर्नेछ । त्यसपछि मन्त्रालयले सिफारिस गरिएका यी तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएपछि मन्त्रीपरिषदले उपयुक्त एक व्यक्तिलाई सदस्यसचिवमा नियुक्ति गर्नेछ ।

युवा तथा खेलकुद मन्त्रालयले परिषदको सदस्यसचिवको पदपूर्तिका लागि खुला आवेदनको आह्वान गरेपछि ३ महिलासहित २७ जनाको आवेदन परेको थियो । जसमा निवर्तमान परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पनि आवेदन दर्ता गराएका थिए ।

नयाँ खेलकुद ऐन लागु भए सदस्यसचिव पदबाट राजीनामा दिने र सदस्यसचिवको आवेदन पनि नदिने सार्वजनिक रूपमै घोषणा गरेका सिलवालले अहिले सदस्यसचिवका लागि आवेदन दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्राप्त जानकारीका अनुसार सिलवालले ‘माथिको निर्देशन’मा आवेदन दिएको बताए पनि यसमा कतिको सत्यता छ त्यो सदस्यसचिवको नियुक्तिपछि थाहा हुनेछ ।

सदस्यसचिवका लागि आवेदन दर्ता गर्ने अधिकाङ्श आकांक्षीले सदस्यसचिव बन्न भन्दा पनि चर्चामा आउन निवेदन दर्ता गराएका छन् । तीमध्ये केहीले भने सदस्यसचिव बन्नकै लागि आवेदन दिएका छन् ।

त्यसको अग्रपंक्तिमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, मेघराज पौडेल, लिलवहादुर थापा मगर, तेजबहादुर गुरुङ र अच्युतम लामिछाने रहेका छन् । अब यी पाँचमध्ये कुन दुईलाई सिफारिस कमिटीले सिफारिस गरेर पठाउँछ त्यो चर्चा र प्रतीक्षाको विषय बनेको छ ।

त्यस्तै, एक जना महिलालाई अनिवार्य रूपमा सिफारिस गर्नुपर्ने बाध्यताका कारण मीना श्रेष्ठ, अञ्जु श्रेष्ठ र निलमसिंह बज्राचार्यमध्ये एकजना सिफारिसमा पर्नेछन् ।

नयाँ सदस्यसचिवको नियुक्तिमा राजनीतिक हस्तक्षेप भएन र सिफारिस समितिले विनाराजनीति दबाबमा सिफारिस ग¥यो भने यो पटक राष्ट्रिय खेलकुद परिषदले नयाँ सदस्यसचिव पाउने पक्का छ । अन्यथा सिलवालले नै बाजी मारे भन्दा अन्यथा मान्नुपर्ने छैन ।