समय मृग मरीचिका हो

समय मृग मरीचिका हो


  • ज्ञान मित्र

खगोलीय पिण्डहरूका सन्दर्भमा समयको प्रवाह उनको आफ्नो अक्षमा घुम्ने गतिमा निर्भर गर्छ । अक्षको एक फन्को पूरा हुनु नै सम्बंधित ग्रहको दिन र रातको अवधि हुन्छ । छिट्टै परिक्रमा गर्ने ग्रह अर्थात् अक्षको परिक्रमा द्रुत गतिले गर्ने ग्रहहरूमा दिन–रातको अवधि कम र यसका विपरीत ‘स्लो मोसन’मा गति गर्ने ग्रहहरूमा यो अवधि लामो हुन्छ ।

पृथ्वीबाहेक अन्य ग्रहमा मानिस छन्, त्यहाँ उनले एक सूर्योदयदेखि अर्को सूर्योदयको अवधि कुन रीतिले नापने मापने (जाँच्ने) गर्छन् त्यों हामीलाई थाहा हुने कुरा होइन । विज्ञानको पहुँच भएसम्म कुनै पनि ग्रहमा मानिसजस्तो प्राणी त के कुनै प्रकारको पनि जीवनको प्रारम्भिभक लक्षण समेत भेटिएका छैनन् । कुरा पृथ्वीकै गरौँ, यहाँका मानिसले यो कसरी नाप्ने गर्छन् ?

यसबारेको इतिहासमा नगएर आधुनिकतम् चर्चामै केन्द्रित हुन्छु ।

विषयको जटिलता र यसप्रतिको मेरो गहनताले गर्दा मबाट कहिलेकाहीँ लेखिने लक्षण र अभिव्यंजनायुक्त विनोद शैलीको अभाव मलाई नै महसूस भइरहेको छ, महसूस भए पनि त्यसका लागि मसँग यथेष्ट अन्तराल अभाव छ । निर्मम र क्रुर पाराले शब्द थोपरी रहेको छु । अन्तराल उपलब्ध हुनासाथ पुनः प्रयास गर्छु ।

पृथ्वीका मानिस अथवा यहाँको विज्ञानले समय मापन गर्ने जुन मूल यूनिट प्रयोग गर्छ, त्यों निःसन्देह सेकेण्ड हो । १ सेकेण्डभन्दा तलका (जेप्टो सेकेण्ड, योक्टो सेकेण्डसम्म) र माथिका (जेट्टा सेकेण्ड,योट्टा सेकेण्ड) सबैको सम्बन्ध सेकेण्डसँग नै छ । १ सेकेण्ड के हो ? विज्ञानको भाषामा १ सेकेण्डको समय त्यों समय हो जसभित्र प्रकाशले २९,९७,९२,४५८ मीटरको यात्रा गर्छ । समुद्रका छालले २३ मीटर दूरी पार गर्छन् । ध्वनिले ३४३ मीटर दूरी पार गर्छ । केही बुझ्नुभयो तपाईंले ? मेरो भने प्रयास जारी छ ।

आधुनिक भौतिकशास्त्रअनुसार १ सेकेण्डको समय त्यों समय हो जुन समयभित्र सीजियम–१३३ नामक धातुका परमाणुले ९,१९,२६,३१,७७० वटा कम्पन गर्छन् । सीजियमका परमाणुको ९ अर्ब १९ करोड़ २६ लाख ३१ हजÞार ७७० वटा कम्पनमा लाग्ने समय १ सेकेण्डको समय हो । एक सेकेण्डको ‘लेंथ’ थाहा पाउनुभयो होइन, वैज्ञानिक व्याख्या थाहा पाउनुभयो । यही अवधारणाले समयसम्बन्धी सबै अवधारणा चलिरहेका छन् । हेर्नुस् त १ मिनट – ६० सेकेण्ड, १ घण्टा – ३६०० सेकेण्ड, १ दिन – २४ घण्टा,. ८६,४०० सेकेण्ड, एक साता – ६,०४,८००, एक वर्ष – ३१५३६००० सेकेण्ड, एक शताब्दी – ३१५५ ६९५२०० सेकेण्ड (लीप इयर जोडेर) ।

यसैगरी सेकेण्डको दसौँ भाग डेसीसेकेण्ड, सयौँ भाग सेंटीसेकेण्ड, १ हजारौँ भाग मिलीसेकेण्ड, दस लाखौँ भाग माइक्रोसेकेण्ड, एक अर्बौ भाग नैनोसेकेण्ड, दश खर्बौं भाग पिको सेकेण्ड, दस हजार खर्बौं भाग फेमटोसेकेण्ड, एक करोड़ खर्बौं भाग अट्टोसेकेण्ड मात्रै होइन १० को घात माइनस २१ मा जेप्टो सेकेण्ड र १० को घात माइनस २४ मा योक्टोसेकेण्डसम्मको गणना छ ।

खगोलीय पिण्ड अथवा ग्रह स्तरमा तिनको स्वरुप, आकार, प्रकार, संरचना, उनको अक्षमा परिक्रमा गर्ने तिनको गति र त्यहाँ पर्ने सूर्य प्रकाशको विविध स्तरले गर्दा ग्रहको धरातलमा आउने परिवर्तनले गर्दा मृगमरीचिका झैँ व्याप्त रहेको आभास दिने समय मापनको यूनिट अथवा प्रणाली पनि गतिकै सेरोफेरोमा (सीजियम परमाणुको कम्पन) र ‘टाइम डाइलेसन’को अवधारणा पनि गतिकै (प्रकाश गतिको सापेक्ष) भूमिका रहेको छ ।

समय भन्ने जीनिस गतिको ’बाई प्रोडक्ट’ त हो नै, यसबाहेक यो जीनिस अस्तित्वमा आऊंन अन्य धेरै ‘फेवेरेवल कंडीसन’ हुनुपर्ने अनिवार्यता पनि चाहिने रहेछ । सर्वप्रथम त कुनै ताराबाट (सूर्य) आउने प्रकाश र यस प्रकाशले आफूसँग बोक्ने ताप, यी दुबै समयको भ्रम उत्पन्न हुनलाई चाहिने आवश्यक शर्त नै हुन् । कल्पना गर्नुस् पृथ्वीमा कुनै प्रकारल सूर्यको अनुपस्थितिमा पनि जीवन रहन सक्छ, पृथ्वीमा अन्य कामका लागि पर्याप्त विधुत हुने कल्पना गर्नुस् । के सूर्यको अनुपस्थितिमा समय परिवर्तनको केही बोध हुनसक्छ ? के करोडौँ वाटका ट्यूबलाइट बाल्नाले समयको बोध दिन सक्छ ? ध्यान दिनुहोस्, समयको बोध कसरी भइरहेको छ ? सूर्य प्रकाशका कारण पृथ्वी धरातलमा आएको प्राकृतिक परिवर्तनका कारणले नै समय परिवर्तनको बोध भइरहेको होइन ?
प्रकृतिमा परिवर्तन भएन भने समयको बोध धराशायी हुन्छ होइन र ? दोश्रो ‘फेवरेवल कंडीसन’ ताप पनि हो, कारण पृथ्वीको तापमान यदि अरुण, वरुण ग्रहका माफिक माइनस २०० भन्दा बढ़ी हुने हो भने सर्वत्र हिउँको साम्राज्य भएर समय परिवर्तनको बोध नै कसरी हुन्थ्यो ?

अब यति चर्चा गरेर यदि मानवीय चेतनाको कुरा नगर्ने हो भने समय चर्चासम्बन्धी सारा प्रयास नै व्यर्थ हुन्छन् । भइरहुन् सारा परिवर्तन, समय दगुरोस् कि मंद–मंद विहार गरोस् । चेतना नभए, परिवर्तनको बोध गर्ने क्षमता नभए समय परिवर्तन भएर पनि के तपाई र मेरा लागि केही परिवर्तित हुने थियो ? खेदपूर्वक भन्नुपर्छ वर्तमान युगमा प्रकृतिको ‘समय आभास’भन्दा धेरै बढ़ी हामी आफ्नो मस्तिष्कमा संचित समयसम्बन्धी मान्यताले जिउन अभिशप्त छौँ ।