निराकारको चिन्ता- ‘छोराबाट कसरी जोगिने ?’

निराकारको चिन्ता- ‘छोराबाट कसरी जोगिने ?’


  • देवप्रकाश त्रिपाठी

झमक्क साँझ पऱ्यो । पृथ्वीका जीवित केवल दुई मानव, दुईबीच पनि कता–कता मनोमालिन्य भएजस्तो लाग्थ्यो । आज दिनभरि उनीहरूबीच खासै सम्वाद पनि भएन । अघिल्लो दिन जीवनलाई निरन्तरता दिने भन्ने सहमतिचाहिँ दुईबीच भएको हो, तर एक अर्काप्रतिको असन्तुष्टिका बीच भएको सहमतिले स्वाभाविकता पाइसकेको थिएन । त्यसैले सोचाइ ज्यादा सम्वाद कमको स्थितिबाट उनीहरू गुज्रिरहेका थिए ।

दिनभरिको काम सकेर दुवैजना घरभित्र प्रवेश गरे । जे थियो त्यसलाई भोजनको रूपमा ग्रहण गरेर मौनताकै बीचमा उनीहरू आ–आफ्नो ओछ्यानमा पल्टिए । दुवैले आ–आफ्ना आँखा बन्द गरे, तर निद्रा पर्ने स्थिति थिएन । भविष्यबारेको सोचमा दुवै मग्न थिए, शायद मध्यरात हुनै लाग्दा उनीहरूलाई निद्राले समात्यो ।

मध्यरात नाघिसकेको थियो, भयङ्कर आवाजका साथ गर्जिएको मेघले अभ्यस्तको निद्रा खुलाइदियो । आकाशमा बिजुली चम्कने र मेघ गर्जने क्रमसँगै वर्षा पनि सुरू भएको थियो । अभ्यस्त उठेर ओछ्यानमै बस्यो । आमा भएतिर हेऱ्यो, आमा मस्त निद्रामै थिइन् । बिजुली चम्कँदा झोपडीभित्र छिरेको उज्यालोमा आमाको शरीर उसको आँखामा लाग्थ्यो, यस्तो अनेकौँ पटक भइरह्यो । अभ्यस्तले सोच्यो– ‘यिनी नै मेरी आमा हुन् भन्ने के विश्वास छ र ?’ पटक–पटक उसको मनमा यही प्रश्न आइरह्यो ।

त्यसपछि उसले पलभर नबिराइकन आमाको शरीरमा आँखा लगाइरह्यो । आमाको शरीरका कपडाहरू छताछुल्ल थिए । कपडाले धोखा दिएका भागहरूमा अभ्यस्तका आँखा बढी केन्द्रित हुन्थे । मेघको गर्जन र वर्षा रोकिएको थिएन । अभ्यस्त अचानक उठ्यो र आमाको ओछ्यानको छेउमा उभिन पुग्यो । आमालाई शिरदेखि पाउसम्म नियाल्यो । अनि पाउपट्टि गएर बस्यो । आमाको शरीरलाई तलदेखि माथिसम्म नियाल्यो । यिनी, जो सुतिरहेकी छिन् यिनी मेरी आमा होइनन् भन्ने कुरालाई उसले दिमागमा जबर्जस्ती प्रवेश गराएको थियो । उसले हात अघि बढायो, आमाका पिँडुलाहरू छोप्ने फरियाको फेर समात्यो । ठीक त्यसैबेला निकै ठूलो आवाजका साथ मेघ गर्जियो । निराकार झसङ्ग भएर बिउँझिन् । आफ्नो शरीरमा कसैको स्पर्श भएको थाहा पाउन उनलाई समय लागेन । जुरूक्क उठिन् र आफ्नो समीपमै भएको अभ्यस्तलाई सोधिन्–

‘के भयो बाबु, निद्रा परेन ?’ ऊ केही बोलेन । आमाको पाउमा शिर राख्यो र ढोग्यो । उसले आफै पाउबाट शिर हटाएन । निराकार आफैले गोडा झिकिन् र अभ्यस्तलाई सुमसुम्याउन थालिन् ।

‘के भयो अभ्यस्त ?’
‘केही भएको छैन’, अभ्यस्तले जवाफ फर्कायो ।
‘अनि किन नसुतेर यसरी बसिरहेको त ?’
‘मनै थर्कने गरी मेघ गर्जियो, त्यसैले डर लागेर तपाईंको समीप आइबसेको ।’
थप प्रश्न गरेर छोरालाई लज्जित बनाउन उनले चाहिनन् । ‘ए..’ भनेर टुङ्ग्याइन् । तर अभ्यस्तको नियतबारे जानकारी पाउन भने उनलाई कुनै मुस्किल परेन ।

यस घटनाले निराकारलाई चिन्तित तुल्यायो । व्यक्त गर्ने ठाउँ थिएन । यसको समाधानको उपाय आफैले खोज्नुबाहेक सल्लाह लिनका निम्ति कोही थिएनन् । छोराले धैर्य गुमाउँदै गयो– उनले राम्ररी बुझिन् । आगामी दिनमा कुनै प्रकारको दुर्घटना पो ब्यहोर्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई गम्भीर रूपले छोप्यो । छोराबाट कसरी जोगिने, उनका लागि अब अर्को चिन्ता थपियो ।

मेघको गर्जन बन्द भयो, तर वर्षा रोकिएन । अभ्यस्त फर्केर आफ्नै ओछ्यानमा आयो । एकैछिन अगाडि आफूभित्र पैदा भएको ज्वालामुखी र त्यसलाई शान्त तुल्याउन भएको प्रयासलाई लिएर मनमनै उसमा ग्लानि बोध भयो । ग्लानि बोध गर्दागर्दै ऊ निदायो । तर, निराकारलाई भने त्यसपछि निद्रै परेन । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
जिन्दगीलाई निरन्तरता दिने अठोट