दैलेखबाट आर्थिक समृद्धिको ढोका खुल्ने उद्घोष

दैलेखबाट आर्थिक समृद्धिको ढोका खुल्ने उद्घोष


नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घोष गरेका छन् । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को आरम्भ गर्दै नँले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्ने जिकिर गरे । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उनले औपचारिक शुभारम्भ गरेका हुन् ।

‘सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा गर्नका लागि सरकारले विशेष महत्वका आयोजनाहरूलाई चाँडोभन्दा चाँडो कार्यान्वयनको चरणमा पुऱ्याउने तयारी गरिरहेको छ’- उनले भने ।

सो अवसरमा खानी तथा भू-गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने दाबी गरे ।

नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजले पुगेका एक सय ५० बढी ट्रकका सामानहरू झारेर जडानको कार्य तत्कालै थालिएकाले काम चाँडो भएको खानी तथा भू-गर्भ विभागले जनाएको छ । विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ ।

आर्थिक हिसाबले उत्पादनयोग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरू सुरु हुनेछन् ।

नेपाल र चीन सरकारबीच विसं २०७५ मा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब रु दुई अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।

photo: rss