युद्धप्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

युद्धप्रभावितलाई उद्धार गर्न आयोगको आग्रह



राष्ट्रिय मानवअधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी घाइतेको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् । आयोगले आमरण अनशनमा बसेका कृतु भण्डारीलगायतको जीवन रक्षा गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

नेपालीहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगले स्मरण गराएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा रुसी सेनामा कार्यरत ३९ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही घाइते भई उपचाररत छन् ।

ज्ञातव्य छ, जोखिममा रहेका व्यक्तिहरूको उद्धार गर्न र गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्न गत १ पुसमा आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।