‘ड्युटी’मा रहेका प्रहरीलाई हातपात गर्दा …

‘ड्युटी’मा रहेका प्रहरीलाई हातपात गर्दा …


स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका-१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेर सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए । प्रहरीचौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ-१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो ।

‘मादक पदार्थ सेवन गरी साथी-साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्, प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाइबुझाइ गर्दै गर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए’- प्रहरी प्रवक्ता रानाले भनेका छन् ।

प्रहरीचौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सिंहको अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिएका छन् ।