लकडाउन छ । केटाकेटी स्कुल जान पाएका छैनन् । केही स्कुलले अनलाइन कक्षा सुरु गरेर केही घन्टा विद्यार्थीलाई अनलाइन कक्षामा भुल्याए पनि फुर्सदमा बालबालिकाहरू टिभीको रिमोट हातमा लिएर बसिरहेका हुन सक्छन् । वा मोबाइलमा गेम खेलेर दिन बिताइरहेका हुन सक्छन् ।
कतिपय अभिभावक आफ्ना बालबालिकालाई शैक्षिक कार्यक्रममा सामेल गराउन नसकेर तनावमा पनि हुन सक्छन् । ती साना केटाकेटीलाई शैक्षिक कार्यक्रममा सामेल गराउनका लागि सचित्र किताब प्रालिले एउटा उपाय सिकाएको छ । बालबालिकालाई उनीहरूका रुचि अनुसारका पुस्तक पढाउने ।
उक्त संस्थाले ३ देखि १० वर्षका बालबालिकाको रुचिलाई ध्यान दिएर १० वटा पुस्तकको प्याकेज सार्वजनिक गरेको छ– ‘कोशेली’ । १० वर्षभन्दा माथिको उमेर समूहका बालबालिकाले पनि यो पुस्तक पढेर ज्ञानका साथै मनोरञ्जन लिन सक्छन् ।
लामो समयदेखि बाल साहित्य लेखनमा सक्रिय कृष्णदीप सिग्देलको सम्पादनमा तयार भएको यो पुस्तक हरेक बालबालिकाका लागि गतिलो पाठ्यसामग्री हो । जो बालबालिका यस्ता पुस्तकमा रमाउँछन् उनीहरूका लागि त यो गज्जबको सामग्री हो नै, जो कोर्सबाहेकका पुस्तक पढ्नमा जाँगर लगाउँदैनन् उनीहरूका लागि यी पुस्तकले प्रेरणा दिन्छन् । अन्य पुस्तक पढ्नका लागि वातावरण तयार गर्छन् ।
‘कोशेली’मा १० विभिन्न किताब भिन्दा भिन्दै शीर्षकका छन् । यसमा राखिएका चित्र र शब्द बालबालिकाका लागि आकर्षक छन् । नेपाली बालसाहित्यमा यत्तिको आकर्षक पुस्तक सम्भवतः पहिलो हो । सम्पादक सिग्देल भन्छन्– ‘बालबालिकाका लागि किताब तयार गर्नु ठुलो कुरा नहुन सक्छ तर बालबालिकाको रुचि ठम्याएर त्यसैअनुरुपको किताब तयार गर्नु चानचुने कुरा होइन । बालबालिकाको रुचि किताबमा भएका शब्द मात्रै सीमित हुँदैन । उपयुक्त चित्र, बालबालिकाले बुझ्ने साजसज्जा, छपाइको स्तर र किताबको भौतिक गुणस्तर पनि उनीहरूको रोजाइमा पर्छ । यी किताबहरू बालपाठकको रुचिलाई सबै कोणबाट आकर्षित गर्ने लक्ष्यसहित तयार गरिएका हुन् ।’
६ दर्जन भन्दा बढी बालसाहित्यिक पुस्तकका लेखक एवम् त्यति नै सङ्ख्यामा पुस्तकको सम्पादन गरेका सिग्देल नेपालमा बालबालिकाले पढ्न रुचि राख्ने पुस्तक थोरै भएकोमा चिन्ता व्यक्त गर्छन् । बालसाहित्य केवल लेख्नका लागि लेख्ने हैन बालबालिकाले पढेर आनन्दित हुनु पर्ने उनको मान्यता छ ।
उनका प्रायः पुस्तक बालबालिकाले मन पराउने गरेका छन् । किताबको संख्या बढाएर ठुलो लेखक हुनुभन्दा पनि बालबालिकाको रुचिको साहित्य लेखेर बालबालिकालाई किताबप्रति प्रेरित गर्ने उनको धेय छ ।
‘चकचके खरायो’, ‘लोभी कुकुर’, ‘के पो गर्ने खै’, ‘कथा भन्ने खाट’, ‘उपहार’, ‘चुलबुले च्यान्टु’, ‘गाउँ खाने कथा’, ‘भूत’, ‘प्यारी’ र ‘आकारको घाउ’– कोशेलीभित्र संग्रहित १० कितावको सूचि हो यो ।
यी पुस्तकको आकारैै यति राम्रो छ । बालबालिकाले पुस्तक हातमा लिने बित्तिकै कुनै सुन्दर उपहार लिएको अनुभूति गर्छन् । पहिलो पानामा आँखा गढ्नेबित्तिकै, आकर्षक चित्रले दोस्रो पाना नपल्टाई सुखै पाउँदैनन् । एवम् रितले पुस्तक पढेर भ्याउँछन् ।
प्रतिक्रिया