विभागीय र शाखा प्रमुखलाई कार्यवाहक सदस्यसचिवको कडा निर्देशन

विभागीय र शाखा प्रमुखलाई कार्यवाहक सदस्यसचिवको कडा निर्देशन


राष्ट्रिय खेलकुद परिषदका कार्यवाहक सदस्यसचिव भक्तबहादुर ढकालको अध्यक्षतामा परिषदका विभागीय प्रमुख र शाखा प्रमुखबीच बैठक बसेको छ । युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकमा परिषदका विभागीय प्रमुख र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो भने बैठकमा सदस्यसचिव ढकालले विभागीय प्रमुख र शाखा प्रमुखलाई कडा निर्देशन दिएका थिए ।

बैठकमा गत वर्षको राखेपको प्रगति विवरण पेस गर्न खेलकुद प्रशासन शाखाका प्रमुख कुलबहादुर थापाको संयोजकत्वमा सम्पूर्ण खेलकुद विभागका प्रमुख सदस्य रहने गरी समिति गठन गर्दै निर्देशनअनुसार प्रतिवेदन पेश गर्न ढकालले निर्देशन दिएका छन् ।

परिषदको सम्पूर्ण गतिविधि खेलकुद मन्त्रालयबाटै सञ्चालन गरिरहेका कार्यवाहक सदस्यसचिव ढकालले समितिका संयोजक तथा खेलकुद प्रशासन विभागका प्रमुख थापालाई आगामी वर्ष २०७७–७८ को कार्ययोजनासहित पेश गर्न अर्को जिम्मेवारी र निर्देशन पनि दिएको राखेप स्रोतले जनाएको छ ।

साथै गत वर्ष नेपालमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खरिद गरिएको खेल सामग्रीहरूको निरीक्षण गरी सत्यतथ्यसहित प्रतिवेदन पेश गर्न समेत सदस्यसचिव ढकालले थापालाई निर्देशन दिएका छन् ।

प्राप्त जानकारीअनुसार १३औँ सागमा खरिद गरिएका थुप्रै खेल सामग्रीहरू अन्तर्राष्ट्रिय मापडण्डको नभएको, परिषदमा थुप्रिएर रहेको र खरिद गरिएका खेलकुदका सामानहरूमा आर्थिक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जनभन्दा बढि उजुरी परेका छन् । अख्तियारले यो विषयमा अहिले छानविन गरिरहेको छ । सो कुरालाई मध्यनजर राख्दै सदस्यसचिव ढकालले यस्तो कडा निर्देशन दिएको बुझिएको छ ।

१३औँ सागमा खरिद गरिएका प्रायः सबै खेलका सामग्रीहरू अन्तर्राष्ट्रिय मापडण्डको नभएका कारण त्यसै बेला विवाद भएको थियो । कतिपय संघले बाध्यतावश त्यस्तो खेल सामग्रीको प्रयोग गरे पनि बास्केटबलले परिषदद्वारा खरिद गरिएको खेल सामग्री नै प्रयोग गरेको थिएन । अहिले पनि ती नक्कली खेल सामग्री परिषदमा थन्क्याएर राखिएका छन् ।

त्यस्तै सुटिङ खेलको खेल सामग्री खेल सकिएपछि मात्रै प्राप्त भएको थियो । त्यो पनि कमसल र नक्कली भएको थाहा भएपछि संघले बुझ्न नै नमान्दा निकै विवाद भएको थियो । स्मरण छ, १३औँ सागमा सुटिङ खेलका नेपाली खेलाडीहरूले अन्य मुलुक खेलाडीसँग खेल सामग्री मागेर खेल्नुपरेको थियो । यही कारण सुटिङ खेलका खेलाडीहरू पदक जित्नवाट विमुख भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७६–७७को आर्थिक प्रतिवेदन पेश गर्न आर्थिक शाखाका प्रमुख रिखीराम पोखरेललाई पनि ढकालले निर्देशन दिएका छन् ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन लागु भएसँगै खेलकुद मन्त्रालयले यसरी निर्देशन दिएपछि अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । यदि आगामी दिनमा पनि मन्त्रालयले परिषदलाई यसरी नै निर्देशन गर्दै जाने हो भने खेलकुदको कार्य सञ्चालन गर्न निकै सहज हुने प्रशासन विभाग प्रमुख थापाले बताए । मन्त्रालयबाट राम्रो कुराको आरम्भ भएको छ, यस्तो कुरोले भविष्यमा पनि निरन्तरता पाउनुपर्छ, मन्त्रालयको यो कदमले खेलकुदलाई उत्साहित बनाएको थापाले बताए ।