आदरणीय अभिभावकज्यूहरू,
नमस्कार !
म आरामै छु । आशा गर्छु कि यहाँहरूलाई पनि कुशल मंगल छ । यो विषम परिस्थितिमा आर्थिक हालखबर उल्लेखनीय नभए पनि पारिवारिक हालखबर भने उत्कृष्ट नै छ, ठान्दछु । जब परिस्थिति हाम्रो बसमा हुँदैन तब हामी कुनै न कुनै शक्तिको सहारा लिन पुग्छौँ, शास्त्रको सहारा लिन पुग्छौँ । यसर्थ हामी कहिल्यै आत्तिनु हुँदैन बरु भागवत गीताको सार ‘जे भयो ठीकै भयो, जे हुँदैछ ठीकै हुँदैछ र जे हुनेवाला छ ठीकै हुनेछ’सँग एकाकार हुनसक्नुहोस् भन्ने ठान्दछु । जस्तै नाकाबन्दीले चिलबिल भएका हामीमा मौलिक र स्व-उत्पादनमुखी चेत भरियो । यो शिक्षा सन्सारका सबै विश्वविद्यालयले दिने भन्दा पनि गतिलो शिक्षा हो । यो एउटा ‘पाराडाइम शिफ्ट’ पनि हो । त्यसैले अहिलेको कोभिड चपेटाले पनि हामीलाई आपार ज्ञान प्रदान गरेरै बिदा लिनेछ यद्यपि यो महामारीले हामीलाई थुप्रै पछाडि अल्झाइदियो । धेरै चिन्तित भएर कुनै सहजता प्राप्त हुँदैन यस्तो बेला, बरू चिन्तनमार्फत समायोजनका वैकल्पिक बाटाहरू खोजेर रोजेर नै जीवन सञ्चालनका लागि अग्रसर बन्नुहोला ।
यहाँ धेरैजसो अर्थकै स्वार्थले मान्छे कुमान्छे बन्ने हो, सन्तोष लखेटिने हो, सम्बन्ध फाटिने, झगडा कुलत जन्मिने हो, लूट र भ्रष्टाचार झाङिने हो, स्वाभिमान र इमान नाङिने हो र इर्ष्या र बैमनष्यता चुलिने हो । त्यसैले यो बेला कमाइएन जमाइएन भनेर मुद्रा नबिगार्नुहोस् । बरु शारिर नाङियोस् मन न्यानो राख्नुहोस् । परिवारमा सकारात्मक सोच र उर्जा सहितको एकता कायम राख्नुहोस्, मेलमिलाप उत्कृष्ट बनाउनुहोस् । मन फुकाएर हरेक क्रियाकलापलाई सहभगितात्मक बनाई आफ्ना बालबालिकालाई मूल्य मान्यता सुझाउनुहोस् र जीवन बाँच्ने कला सिकाइदिनुहोस् ।
प्रिय अभिभावकज्यूहरू,
११० दिन भन्दा लामो बन्दबन्दीले ओछ्यान लागेर पट्यारलाग्दो जिन्दगी बाँच्न विवश छौँ । अझ बालबालिकाहरू भन्दा पनि हामी उनीहरूका अवसरदाताहरू ताला लागेका शैक्षिक संस्थाहरूको परिणामतः उनीहरूका घरभित्र थामिनसक्नु गतिविधिले थिल्थिलै भएका छौँ, पक्कै पनि । तर पनि चाँदीको घेरा देख्नसक्नुहोस् । जसका लागि आफ्ना कृयाकलापहरूमाथि सिर्जनशील योजना पुनर्योजनाहरू गर्नुहोस् । बालबालिकाका आदत निर्माण हुने बसउठ र बोली ब्यवहारमा कस्सिनुहोस, हप्किदप्की र चर्काचर्की बन्द गर्नुहोस् । शान्ति र धैर्यले हरेक कर्म गराउनुहोस् । बस्.. यस्तै यस्तै ।
परिवारमा हामी एक्लो छैनौँ । यसै समय बिताउनु पाठको बिनातयारी कक्षामा प्रवेश गर्नुसरह हो । जसको परिणाम बालबालिकामा जिस्किने, जथाभावी बोल्ने, अनादर गर्ने, मतलव नगर्ने जस्ता बानीको विकास हुनगई भविष्यमा आफ्नो साथै परिवारकै सम्मानमा धक्का लाग्ने दिन निम्तिने छ । त्यसैले परिवार समुहमा रहने र सामुहिक भावना र परस्पर सर्वोपरि हित र सहयोगमा आँच नआउने किसिमका शैलीहरू चयन गर्नुहोस् । जब बालबालिकाले सही पथ प्रदर्शन पाउँदैनन् तब पारिवारिक विचलन्, अनादर र अनास्थाको चरण देखा पर्दछ । जसले गर्दा परिवार धरासयी बन्दछ र एउटा बालक/बालिका आफ्नो भविष्यप्रति उदसिन हुन पुग्छन् र उसले जीवन भनेको अनुभवहरूको सङ्गालो तथा असल बानीसहितको ब्यवहार हो भन्ने कुरा कहिल्यै बुझ्न सक्दैन र जीवन बुझ्न भौँतारिइरहन्छ । यो हुनबाट जोगउनुहोस् ।
प्यारा अभिभावकज्यूहरू,
मैले अघि नै पनि संकेत गरेँ, अहिलेको समय एउटा अनपेक्षित र अफ्ठ्यारो हो तर सँगै जीवनका लागि अपरिहार्य थुप्रै अनुभवहरू सङ्गाल्न सकिने अवसर पनि हो, किनकि सामान्य अवस्थामा गरिने कार्यहरू कर्मकाण्डी, यथास्थितिपरक र औपचारिक भैराखेका हुन्छन् । यो समय जटिल हो तर यसलाई अधिकाधिक बालबालिकाअनुकूल बनाउने कर्तव्य पनि हामी अभिभावककै हो, यो बुझ्नुहोस् । हरेक परिस्थितिमा प्रगति खोजिदिने अवसरदाता नै कुशल अभिभावकको परिचय हो । यसर्थ, यो कोरोना भाइरसको त्राहिमाम अवस्था र सिर्जित कठिनाइभित्र पनि आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न र कर्तव्यप्रति सदैव सचेत रहँदै बालबलिका तथा सिंगो समाज र अन्ततः देशलाई नै आफूले सकेको निम्न उल्लेखित योगदान गर्नुहोस् ।
पहिलो, यो संकटको पीडालाई मनोवैज्ञानिकका साथै अभिभावकीय मलम लगाउनुहोस् । असहजताको जिन्दगी भोगाइलाई आत्मसात गर्दै शान्ति र मेलमिलापसहितको वातावरणामा सुब्यवस्थित भएर अगाडि बढ्न सिकाइदिनुस् ।
दोस्रो, यो समयमा परिवारमा नै समय बिताउनुपर्ने भएकाले हरेकका भावना र सोचको कदर गर्दै घरका हरेक काममा समूहगत सहभागिता कायम गर्ने र घरको काम बाहेकको समयमा सबैका सिर्जनशिलता प्रष्फुटन हुने जमघटको प्रबन्ध मिलैदिनुहोस् । सबैलाई कुनै न कुनै रुपमा कामको खाका र त्यसको नेतृत्व गर्ने अवसर दिनुस् जसले उक्त कामप्रति अपनत्वको भावना जागृत गराउँछ ।
तेस्रो, बालबलिकालाई जीवनका थूप्रै पाटापक्षको जानकारी गराउने कर्ममा लगाउनुहोस् जसले ब्यबहार कुशलता प्रदर्शित हुन गई हरेक कर्ममा लगाव वृद्धि हुन जान्छ र सिपको आर्जन हुन जान्छ । जो जीवनपर्यन्त नभई नहुने गुण हो । यसलाई विद्यालयको चार दिवारभित्र प्राप्त गर्न निक्कै कम सम्भावना हुन जान्छ । त्यसैले यो समय बालबालिकाहरू खेतबारीमा पसुन्, करेसाबारी तयार गरुन्, आफ्नो हातले उत्पादन गरुन्, भान्सा तयार गरुन्, घर सम्पूर्ण रूपले सफा गरुन्, लुगा धुने उध्रेका सिउने गरुन्, सरसामान मिलाउने, सजाउने, बुट्टा भर्ने गरुन, समाचार सुन्न्ने र समुहमा वादविवाद गर्ने गरुन्, खुल्ला रूपले कुरा गर्ने गरुन्, कुरा गर्दा नम्रत, शिष्टता, निकटता, मायालु भावमा आदर कायम गरेर गरुन, कुरा सुन्ने गरुन् र नम्र प्रस्तुती गर्ने गरुन् र प्रेरणादायी कथाहरू पढ्ने र जीवनमा जोड्ने गरुन् । यो सम्पूर्ण अवसरको एक मात्र ब्यवस्थापक अभिभावक नै भएकाले यस्ता सिप तथा बानीहरूको विकास गरिदिनुहोस् ।
चौथो, राज्यले उपेक्षा गरेकोे तर समाजले अपेक्षा गरेकोे संस्थागत शैक्षिक सस्थाहरूको जीवन क्षाका साथै त्यहाँ कार्यरत समग्र शिक्षक कर्मचारीहरूको रक्षाको लागि आफ्नो समाजप्रतिको दायित्व पुष्टि गर्नुहोस् । कतै अनलाइन शिक्षण भए कतै भएनन् होला, तर सकिन्छ भने २–४ महिना निःशर्त जागिरमा निर्भर तर अहिले जागिरविहीन बनेकालाई खुला हृदयले बाँच्ने ब्यवस्थाकोको लागि संस्थागत विद्यालयमा अर्थ निर्माणमा सहयोग पुऱ्याउनुहोस् । यसको मुल्याङ्कन इतिहासले उच्च गर्नेछ र आउने सहज समयमा उक्त विद्यालयमार्फत गतिशील र गुणस्तरीय शिक्षालाई उत्प्रेरित गर्दछ । नत्र भने एउटा प्रश्न अझै अनुत्तरित नै रहिरहन्छ । त्यो हो, ‘पैसा तिरितिरी प्राइभेट स्कुल राम्रो भन्ने अनि अफ्ठ्यारो पर्दा चैँ त्यो स्कुलको सवाल हो जेसुकै गरोस् भन्ने र मुन्टो लुकाउने पुच्छर ठड्याउने हो त ?’ यो नसोच्नुहोस मानव जीवनरक्षा र आपसी विश्वास कायम गर्नुहोस् र उत्कृष्ट विवेक प्रदर्शन गर्नुहोस १ अन्यथा शिक्षा प्रणाली धराशयी बन्नेछ र समाजले उल्टो दिशा लिनेछ ।
पाँचौँ, देशमा चरम आर्थिक संकट परिरहेको बखत हामी ब्यवसायी भए ५० प्रतिशत मुनाफा रकम राज्य कोषमा रखिदिनुपर्छ र कर छली गरेर ठालुमा दर्ज भएका कोही हुनुभए कर तिरेर नागरिक हुनुहोस् । सरकारी जागिरे भए आफू काममा सरिक नभएको लकडाउनको अवधि भरको २५ प्रतिशत तलब रज्यकोषमा भराउनुहोस् । त्यस्तै यहाँहरू सांसद, मन्त्री हुनुहुन्छ भने ५० प्रतिशत तलब राज्यकोषमा जम्मा गर्नुस् । त्यस्तो केही पनि नभएर सामान्य कृषिमा निर्भर नागरिक मात्र भए छरछिमेकमा आपसी सहयोग कायम गर्दै स्थानीय सरकारसँग आफ्ना उत्पादनको बजार व्यवस्थाको अनुरोध गर्नुस् । अनि हरेकले कुनै न कुनै प्रकारको उत्पादन गर्नुहोस् र बाँडेर खानुहोस् । अहिले कमाउने भन्दा गूजारा चलाउने कुरा नै प्रधान छ, साथै सीमितताका बीचमा पनि कोभिडसँग मानसिक तनावलाई शून्य बनाउनुस् र कहिल्यै पनि जीवन ब्यर्थ रहेछ भन्ने टुङ्गोमा नपुग्नुस् !
प्रिय अभिभावकज्यूहरू,
टीनएज प्रवेश नगरेकाका लागि विशेष रूपले खेलकुदको विकास गरिदिनुस्, बोल्ने कला भरिदिनुस्, लेख्ने कला सिकाइदिनुस्, अभिनय, नृत्य, गीत–संगीतको स्वउत्प्रेरणा निर्माण गरिदिनुस् । आफ्ना पुर्खा, नातेदार र थातथलोको बारेमा जानकारी दिनुस् । आफ्ना संस्कृति, परम्परा र संस्कारको बारेमा स्मरण गराइराख्नुहोस् । विशिष्ट तथा सफल व्यक्तित्वका जीवनी सुनाउनुहोस्, प्रेरक पुस्तकहरुमार्फत उर्जा भरिदिनुस् । लेख रचना छपाइदिनुस्, मन लागेका अर्थपूर्ण कामहरु गर्ने मौका दिनुस् र सँगसँगै खेलिदिनुस् ।
अन्त्यमा यो पनि बुझ्नुस् कि मान्छे घुम्ने–घुमाउने कर्ममा आनन्द लिइरहन्छ । देखाउने कुरामा अगाडि नै सर्दछ, साथीभाइ भनेर मरिहत्ते नै गर्दछ । पहिला आफू जोगिने नै उपाय खोज्दछ, अरुका उछालाईमा छल्किने पनि गर्दछ । र, अहिले हरेक दिन कोभिडको विषयलाई लिएर अल्मलिने पनि गर्दछ । यसका बाबजुद आफ्ना बालबालिकाहरूलाई अझै स्वतन्त्र पन्छी हुन दिने समय आएकै छैन । घरभित्रै रमाउँदै ब्यवहारिक शिक्षा पाउन् । घरभित्रै संग्रह गरेको सिपले हाम्रो जीवन उजिल्याउने छ । यसलाई मौका ठानेर घरभित्र नै बस्नुहोस् । विद्यालय खुलेनन्, बालबलिका बिग्रिए भनेर फिट्फिटी नगर्नुहोला । खुसी रहनुहोस्, सुरक्षित बस्नुहोस् ।
टाइपिङमा त्रुटी भएको हुन सक्छ, मिलाएर पढिदिनुहोला ।
धन्यबाद !
उही तपाईंका बालबालिकाको सदैव भलो चिताउने व्यक्ति–
खगेन्द्रप्रसाद लाामिछाने
नव अरुणिमा मा.वि.
अरुणिमा शैक्षिक प्रतिष्ठान, काठमाडौ, नेपाल
प्रतिक्रिया