राखेपको सदस्यसचिवको टुङ्गो आउँदो साता मात्रै

राखेपको सदस्यसचिवको टुङ्गो आउँदो साता मात्रै


राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि आवेदन दिएका व्यक्तिहरूबाट तीनजनालाई साउन ५ गते सोमबार सिफारिस समितिले सिफारिस गर्ने चर्चा चले पनि सदस्यसचिवको सिफारिसको लागि अझ केही दिनको समय लाग्ने स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार सिफारिस समिति यतिबेला होमवर्कमा लागे पनि आन्तरिक कारणले अन्तिम टुङ्गोमा पुग्न नसकेको हो । परिषद्को भावी सदस्यसचिवका लागि २७ जनाको आवेदन परेका कारण निष्पक्ष तरिकाले सिफारिस गर्नुपर्ने भएकै कारण समितिले अझ केही दिनको समय थपेको बुझिएको छ ।

सिफारिस समितिले केही दिनको समय थप गरेपछि अब परिषद्को भावी सदस्यसचिवको टुङ्गो आउँदो साता मात्र लाग्ने छ । यो साताभित्रै सिफारिस समिति निस्कर्षमा पुग्ने र एक महिलासहित अन्य दुई जनाको सिफारिस गरेर खेलकुद मन्त्रालयमा पठाउने तयारीमा रहेको बुझिएको छ ।

यतिबेला सदस्यसचिवको दौडमा निवर्तमान सदस्यसचिव रमेश सिलवाल र मेघराज पौडेलको तीव्र प्रतिस्पर्धा भैरहेको छ । दुवै प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर व्यक्ति भएकै कारण सदस्यसचिवको दौडमा अन्य प्रतिष्पर्धी भन्दा उनीहरू अगाडि देखिएका हुन् ।

एक महिलासहित तीनजनामध्ये सिलवाल र पौडेल दुवै सिफारिस हुने प्रवल सम्भावना यतिबेला देखिएको छ । अब यी दुईमध्ये सदस्यसचिवमा कसले बाजी मार्ला त्यो रोचक बनेको छ ।

सदस्यसचिवको प्रतिस्पर्धाको विश्लेषण गर्दा राजनीतिक हिसाबले पौडेल सिलवालभन्दा अगाडि देखिएका छन् । पौडेल प्रधानमन्त्री ओलीको गृहजिल्ला र उनका निर्वाचित क्षेत्रका व्यक्ति भएका कारण यो पटक पौडेलले सदस्यसचिवमा बाजी मार्ने खेलकुद क्षेत्रमा चर्चा चलेको छ । पौडेल विगत लामो समयदेखि खेलकुदमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

त्यस्तै लगभग एक वर्ष परिषदको सदस्यसचिवको जिम्मेवारी निभाइसकेका सिलवाल पुनः परिषदमा दोहरिने चर्चा उत्तिकै छ । ब्यवसाय व्यापारी भए पनि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीसँगको निकटताकै कारण सिलवाललाई परिषद्को जिम्मेवारी पुनः दिन सक्ने सम्भावना त्यत्तिकै देखिन्छ ।