न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गराई पाउँ भन्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा निवेदन दर्ता भएको छ । लोकतन्त्रवादीहरूको संस्था भएर पनि ७ वर्षदेखि अधिवेशन नगरी अपारदर्शी ढंगले संस्था चलेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सदस्यहरूको चाहना पारदर्शी र राजनीतिक वैधानिकता सहितको अधिवेशन अवश्यक भएकाले यथासीघ्र मिति, समय र स्थान तय गरी समितिको अधिवेशन गराई दिन भन्दै निवेदन दर्ता भएको हो ।
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको विगत ७ वर्षदेखि अधिवेशन हुन सकेको छैन । तर नेपाली कांंग्रेस पार्टीको विधानअनुसार प्रत्येक ४ वर्षमा वडादेखि केन्द्रसम्म अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नु पर्दछ । असाधारण स्थिति भएमा केन्द्रीय समितिले बढीमा १ वर्षको अवधि बढाएर प्रत्येक ५ वर्षमा अनिवार्य रुपमा अधिवेशन गरी निर्वाचन आयोगमा प्रमाण दाखिला गर्नु पर्दछ । पार्टीको शुभचिन्तक संस्था भएकोले जनसम्पर्क समितिले पनि नेपाली कांग्रेसको विधानअनुसार चल्नु पर्ने हुन्छ ।
गुटैगुटको संस्था स्वार्थका कारण अझै पनि अधिवेशन अनिश्चित नै छ । साथै नेपाली कांंग्रेस केन्द्रीय समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको हदमा लागु हुने गरी गरिएको निर्णय अनुसार २०७६ कार्तिक ५ मा पत्र पठाएर ६ महिनाभित्र अधिवेशन गर्न दिएको निर्देशन पनि २०७७ वैशाख ५ मा नै म्याद गुज्रिसकेको छ ।
२०१४ नोभेम्वर टेक्सासको डालसमा भएको एकता अधिवेशन भनिएर अधिवेशन भएपछि पनि विभिन्न गुट–उपगुटहरुको संस्था कब्जा गर्ने होडले नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र धेरै विवादित कार्य तथा अपारदर्शी काम हुँदै आएको छ ।
यसैबीच ७ वर्षदेखि अधिवेशन नै नगरी अध्यक्ष पद कब्जा गरिरहेका आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनयन भएपछि उनको पद स्वतः खालि भएको भन्दै विष्णु सुवेदी समूहले वरिष्ठ उपसभापति धनन्जयनरसिंह केसीलाई सभापति घोषणा गरी नयाँ कार्यसमिति गठन गरेको छ भने विष्ट समुहले आफ्नो कार्यसमिति कायम रहेको र सुवेदीलाई समितिबाट निस्कासन गरेको बताएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा तीन वटा संस्था अझै दर्ता कायम छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाको आधिकारिक संस्था टेक्सासमा दर्ता भएको संस्थालाई मान्यता दिई अधिवेशनमार्फत सभापति बनेका आनन्द विष्टले नै २०१६ मा न्यू योर्कमा ५०१सी अन्तर्गत रहने गरी जनसम्पर्क समिति अमेरिका नयाँ दर्ता गरेका हुन् ।
केन्द्रिय कार्यालयमा निवेदन दर्ताको नेतृत्व गर्ने नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता तथा क्वीन्स कम्युनिटी बोर्डका सदस्य ज्ञानल थापा भन्छन्– अधिवेशन गर्नु पर्ने बेला उक्त विग्रह छताछुल्ल हुनुलाई दुःखद घटनाको रूपमा लिएका छौँ । एक पक्ष ७ वर्ष अगाडि निर्वाचित उन्मादलाई देखाउँदै पार्टी केन्द्रको निर्णय र निर्देशनलाई लत्याउदै विभिन्न बहानाको प्रतिउत्तरको चिट्ठी पठाई अधिवेशनको प्रारम्भिक कार्य पनि नगरी आजीवन पद धारण गरेर बस्ने धृष्टताका साथ अवैधानिक बाटो एकोहोरो हिंडिरहेको छ भने अर्को पक्षले इगो लिएर अवैधानिक बाटोको थालनी गरेको छ ।
पार्टी कार्यालयमा निवेदन दर्ता सँगसँगै अब हामी सम्पूर्ण नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुको हस्ताक्षर अभियान पनि चलाउँदै छौँ – सोमनाथ घिमिरे भन्छन् । दुईचार जना स्वार्थीहरूले संस्था कब्जा गरेर आफ्नो फाइदा मात्र हेरे संस्थालाई बदनाम बनाए यसबाट सम्पूर्ण जनसम्पर्क समितिका सदस्यहरु लज्जित छन्, तसर्थ अब हामी गुटबाहिरबाट सक्षम व्यक्तिलाई नेतृत्वमा पुऱ्याउन एकजुट भएर लाग्ने छौँ– कृष्ण पोख्रेलले भने ।
श्यामकाजी गुरुङ, डा. केशव भट्टराई, धर्मराज कोइराला, डा. सुमन पराजुली, डा. सत्रुघन बास्तोला र सुवर्ण लामाको सामुहिक भनाई छ– दुवै पक्षले अवैधानिक ढंगले नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा विभिन्न गतिविधि गर्दै आउनुभएको पार्टीप्रति कुनै गम्भीरता र जिम्मेवारी लिएका छैनन् । पार्टी सभापति र विभिन्न वरिष्ठ नेताहरुको नाम लिएर मानमर्दन गर्दै संगठनलाई तहसनहस र धरासयी बनाएको अवस्थामा हामी चुप लागेर बस्नु वान्छनीय हुँदैन । संगठन अन्यौलग्रस्त अवस्थाबाट गुज्रिरहेको स्थितिमा हामी नेपाली कांग्रेसको आदर्श, नीति, नियम, विधि र पद्धतिलाई आत्मसात् गर्ने तपसिलका पार्टीप्रति वफादार कार्यकर्ताहरु गम्भीर भएर हिजो, आज र भोलि पनि जिम्मेवारी वहन गर्न तयार रहेका छौँ । साथै संगठनको हितलाई सर्वोपरि ठानेर अवैधानिक र अनाधिकृत तवरले गरिएको अराजनीकि र अव्यवहारिक कदमका विरुद्ध हामी एकबद्व भएर पार्टीको विधिविधान र अमेरिकी कानुनअनुसार अघि बढ्दै हाम्रो संगठन नेपाली जनसम्पर्क समिति अमेरिकालाई हामी सबै अट्न सक्ने साँच्चैको र सबैको नेपाली जनसम्पर्क समिति अमेरिका बनाउन एकतावद्ध भएका छौँ ।
नेपाली जनसम्पर्क समिति अमेरिकामा आर्थिक पारदर्शीता नै मुख्य कुरा रहेको छ । आर्थिक हिनामिना गर्न र गरेको अपराध लुकाउन पनि आजिवन संस्थाको नेतृत्वमा बस्नुपर्ने र पुग्नै पर्ने बाध्यतामा रहेकाहरुलाई संस्थाबाट विदा नगरी नहुने अवस्था र मागलाई नेपाली कांग्रेस केन्द्रिय कार्यालयले सम्बोधन गर्नेमा ढुक्क छु– अन्जनकुमार चौलागाई भन्छन् ।
यस्तै, किरण लामा भन्छन् – आफूले सधै पारदर्शिताको मात्र कुरा गरेको पारदर्शी भए सबै समस्याको समाधान हुन्छ । आर्थिक पारदर्शीताको माग दबाउन पनि अधिवेशन टार्ने प्रवृत्ति र त्यसैका लागि अधिवेशन माग गर्ने पर्ने अवस्था आएपछि अधिवेशनलाई सहज बनाइ दिन नेपाली कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गरेका हौँ ।
प्रतिक्रिया