‘बलात्कृत हुन’ चितवनबाट स्कुटी चढेर पोखरा !

‘बलात्कृत हुन’ चितवनबाट स्कुटी चढेर पोखरा !


सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारी अहिले प्रहरीको थुनामा छन् । केही दिनअघिसम्म पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा ब्यवस्थापन शिक्षालयका प्रमुख रहेका उनी बेला–बेलामा आउजाउ गर्ने महिलालाई बलात्कार गरेको आरोपमा थुनामा परेका हुन् । प्राप्त जानकारीअनुसार गत असार ३१ गते बुधबार बिहान ९.१५ बजे ती महिला स्कुटी चढेर एसएसपी अधिकारीलाई भेट्न सशस्त्र प्रहरीको ब्यारेक पुगेकी थिइन् । उनी ब्यारेकको गेटमा पुग्दा एसएसपी ब्यारेकबाहिर थिए । गेटमा ड्युटी बसेका प्रहरीले ‘कसलाई भेट्न आउनुभएको ? इन्ट्री गर्नुपर्छ’ भन्दा उनले आफू ‘एसएसपी साबको गेष्ट’ भएकाले खातामा इन्ट्री गर्नु नपर्ने जवाफ दिएकी थिइन् । उनलाई भित्र लगी चिया खुवाएर राख्दै गर्नका लागि गेटमा बसेका प्रहरीलाई एसएसपीको फोन आएपछि हाकिमसा’बको अतिथिका रूपमा उनलाई ससम्मान ब्यारेकभित्रको एसएसपी निवासमा लगिएको थियो ।

जानकारीअनुसार ती महिला चितवनबाट स्कुटर चढेर एसएसपीलाई भेट्न पोखरा पुगेकी थिइन् । पहिला पनि पटक–पटक आउजाउ गर्ने तिनी पुगेको करिव १५ मिनेटपछि एसएसपी आफ्नो निवास फर्किएका थिए । केही क्षण बैठक कक्षमा बसेपछि स्न्याक्सहरू मगाएर दुवैले बिहानैदेखि ड्रिङ्क सुरु गरे । त्यसअघि पनि एसएसपी बेला–बेलामा बिहानैदेखि ड्रिङ्क गर्ने गर्थे । खान सुरु गरेको करिव चार घण्टापछि उनीहरूबीच झगडा भयो । भित्र ठूलो–ठूलो स्वरले कराएको आवाज बाहिर सिपाहीहरूले सुने, तर हाकिमले नबोलाई बेडरुममा जाने हिम्मत गरेनन् । केही छिनपछि कम्पाउण्डमा एक्कासी नेपाल प्रहरीका अधिकारीहरूलाई देखेर उनीहरू छक्क परे । प्रहरीहरू ‘घटना कहाँ भएको हो ?’ भन्दै पुगे पनि सशस्त्रका सिपाहीहरूलाई घटनाको बारेमा केही थाहा थिएन । नेपाल प्रहरीका अधिकारीहरू पुग्दा बेडरुममा महिला एक्लै थिइन् ।

वरिपरि स्नयाक्सका प्लेट, केही फुटेका र केही नफुटेका ग्लासहरू थिए । ओछ्यान लथालिङ्ग थियो । प्रहरीले ‘बलात्कृत भएको तपाईं नै हो ?’ भनेर सोधे । ती महिलाले हडबडाएर ‘हो’ भनिन् । प्रहरीहरूलाई देखेर उनी आत्तिएजस्तो देखिन्थिन् । त्यसपछि एसएसपीको खोजी सुरु भयो । भित्र कोठाहरूमा, खाटमुनि उनी कतै भेटिएनन् । गेटबाट उनी बाहिर निस्किएका थिएनन् । केहीबेरको खोजीपछि उनी ब्यारेक पछाडिको झाडीमा लडिरहेको अवस्थामा भेटिए । प्रहरीले उठाएर दुवैलाई बलात्कारपछि गरिने स्वास्थ जाँचलगायतको कार्वाही प्रक्रिया सुरु ग¥यो ।

महिलाले प्रहरीमा फोन गरेर आफू सशस्त्र प्रहरीका एसएसपीबाट बलात्कृत भएको बताएपछि नेपाल प्रहरीको टोली ब्यारेक पुगेको थियो । बिहान ९.१५ मा ब्यारेक पुगेकी उनले २.३० मा प्रहरीलाई फोन गरेकी थिइन् । प्रहरी पुगेपछि भने उनी झस्किएको र मुद्दा दर्ता गर्न सुरुमा नमानेको श्रोतले बताएको छ । उनको स्वास्थ्य जाँचमा शरीरमा चोटपटक, निलडाम या जबर्जस्ती गर्दा हुने नङले चिथोरिने जस्ता सङ्केत–चिन्ह दुबैको शरीरमा देखिएको थिएन । घटनास्थलबाट प्रहरीले यौन उत्तेजना बढाउने औषधीको तीन वटा ट्याब्लेटका खोल पनि बरामद गरेको थाहा भएको छ ।

खाँदै जाँदा महिलाले पैसाको कुरा गरेको र कुरा नमिलेपछि झगडा हुँदा पीडक भनिएका एसएसपीले महिलालाई ‘मलाई बार्गेनिङ गर्ने ?’ भनेर पिटेपछि घटनाले आपराधिक रूप लिएको थाहा भएको छ । सुरुमा महिलाले १० लाख माग गरेको, एसएसपीले म त्यत्रो पैसा दिन सक्दिनँ भनेर ५ लाख दिन्छु भनेको, दराजबाट ५ लाख नगद निकालेको तर महिलाले नमानेपछि बाँकी पैसा खोज्न जान्छु भनेर एसएसपी बाहिर निस्कन खोज्दा मदिराका कारण झाडीमा लडेको र लडेपछि उठ्न नसकेको बताइएको छ । यता महिलाले एसएसपी बाहिर निस्किएपछि पटक–पटक फोन गरेको तर फोन अफ भएपछि उनी भागेको ठानेर थप आक्रोशित भएको बुझिन्छ ।

बलात्कृत भनिएकी ती महिलालाई पनि प्रहरीले एक दिन राखेर सोधपुछ गरेको थियो । विवाहित ती महिलालाई अभिभावक बोलाउनका लागि आग्रह गर्दा उनले घटनाको बारेमा आफ्नो परिवारले जानकारी पाउन नहुने बताएकी थिइन् । प्रहरीले गत बिहीबार छोडेपछि उनी स्कुटरमै आफ्नो घर चितवन फर्किएकी छिन् । यता एसएसपीलाई बलात्कारको मुद्दाको तयारी भइरहेको छ । पक्राउ परेको दिन नै ‘आत्महत्या गर्छु’ भनेपछि उनलाई कडा निगरानीमा राखिएको छ । अदालतले बलात्कार प्रमाणित गरेमा उनले १० वर्ष जेल बस्नुपर्ने छ ।

नियमित जस्तो मदिरा सेवन गर्ने एसएसपी अधिकारी विगतमा पूर्वी टिमोरमा शान्ति मिसनमा रहेका बेला पनि यस्तै प्रकारको विवादमा मुछिएका ब्यक्ति हुन् । घटना हुँदा उनको काठमाडौं सरुवा भइसकेको थियो । केही महिनापछि उनले सेवाबाट अवकाश पाउँदै थिए । ‘बन्दाबन्दी’का बेला उनकी पत्नी र छोरा पोखरा गएर दुई महिना उनीसँगै बसेका थिए । उनकी पत्नी एउटा प्रतिष्ठित बैंकको उच्च तहमा कार्यरत छिन् भने छोरी विदेशमा अध्ययनरत छिन् । सशस्त्र प्रहरीको उच्च ओहदामा पुगेका ब्यक्तिले ब्यारेकमा बाहिरबाट महिलालाई बोलाई सम्बन्ध राख्नु आफैंमा अनैतिक कार्य हो । यो घटनाको आन्तरिक मात्रै छानविन भएको भए पनि संस्थालाई अनैतिक कार्यमा प्रयोग गरेकोमा उनी कार्वाहीका भागीदार हुन् । यसप्रकारका मुद्दालाई बलात्कार भन्न मिल्छ मिल्दैन– अदालतले निर्णय गर्ला, तर सम्बन्धमा ‘बार्गेनिङ’ नमिलेका घटनालाई बलात्कारको संज्ञा दिन थालियो भने ‘बलात्कार भनेको यस्तै त हो नि’ भन्ने मान्यता स्थापित भइ वास्तविक बलात्कारका घटनामाथि अन्याय हुने खतरा बढ्ने छ । यस्ता घटनामा महिलाले झुठ बोलेको प्रमाणित भयो भने उनलाई के–कस्तो कार्वाही हुन्छ भन्ने विषयमा भने कानून मौन छ ।