जाग उठ ब्यूँझ नेपाली

जाग उठ ब्यूँझ नेपाली


■ सुशील देवकोटा

यहाँ देश मेटिन लागिसक्यो
सुशासन र समृद्धिको नाराबीच
नेपालको अस्तित्व सकिन लागिसक्यो
अब पनि नजागे कहिले जाग्छौ ?
कहिले आफ्नो बाच्ने अधिकार माग्छौ
चिया–गफले अब हुँदैन
सामाजिक सञ्जालको विरोधले यिनलाई छुँदैन
चिच्याएर, कराएर वा थर्काएर
जसरी हुन्छ आफ्नो अधिकार माग
जाग नेपाली, जाग, अब त उठ जाग

जनता हिँड्ने बाटो, हिलाम्ये हुन्छ कहिले अनि
कहिले बुङ्बुङ्ती धुलो उड्छ
तर नेतालाई त के फरक पर्छ र, तीनका गाडी त
बाटो थुनेरै पिचरोडमा सलल गुड्छ
महँगीको मारमा परुन् कि जनता बम पड्केरै मरुन्
तर तलब–भत्ता खाने पैसाचाहिँ तिनले
जसरी भए पनि टैक्सको रूपमा भरुन्
रोजगारी छैन जनतालाई, आधारभूत आवश्यकता समेत छैन
भ्रष्ट यी नेताहरूलाई तर, यस्ता कुराले मरिगए छुने होइन
एउटा जान्छ अर्को आउँछ, गतिला छैनन् तर कुनै
जनताको लागि त मानौँ, कान चिरिएका जोगी जुनै
अखण्ड हाम्रो देशलाई, टुक्रा–टुक्रा पारेका छन्
अनि हाम्रो मौलिक धर्म बेचेर, विदेशीबाट डलर झारेका छन्
गीता र रामायण पढ्नुपर्ने हाम्रो देशमा
आजकल बाइबल पो पढ्नु भन्छन्
हो, मति भ्रष्ट भएको नै हो तिनको
बेलाबेलामा होली वाइन जो पिउँछन्
कति दिन धैर्य गर्छौ, कति दिन मुखमा ताल्चा लाउँछौ ?
नेपाल सिक्किम सुडान हुन्छ, अनि होशमा आउँछौ ?
अब त उठ, जाग नेपाली, जाग, उठ, जाग !

न घरमा बत्ति बल्छ, न झर्छ धारोमा पानी
कति सहन्छौ अझै तिमी, यसैलाई आफ्नो भाग्य ठानी
सुनेको छु मैले पनि तिनले भनेको, जादूको छडी हुँदैन
समय लागिहाल्छ नि, चमत्कार नै त हुँदैन नि
तर प्रष्ट भैसक्यो तिनले सोच्छन्, जनता त भेँडा बाख्रा हुन्
जे भनेपनि हुन्छ, तिनको त बुद्धि नै हुँदैन नि
चमत्कार हुँदैन भन्नेहरूले, के यो पनि बताउन सक्छन्
हिजो झुप्रोमा बस्ने नेताहरू, आज महलमा कसरी बस्छन् ?
एयरपोर्टको कडा सुरक्षाबाट, ३८ क्वीन्टल सुन पास हुन्छ
अनि फेरि कहिले समातिएको सक्कली सुन, रातारात चाँदीमा बदली दिन्छ
अघिल्लो दिनको बलात्कार, भोलिपल्टै निराधार हुन्छ
सरकारी जमीन थाहै नपाई, नेतापुत्रको आहार हुन्छ
करोडौँ अर्बौं घुस खाने झन–झन् शक्तिशाली अनि
दुई–चार सय घुस खानेको जेलमा बास हुन्छ
कसले भन्छ हुँदैन, हुन्छ यहाँ यस्तै अचम्मको चमत्कार हुन्छ
कति हेर्छौ यस्तै तमासा, किन तिमी अघाउँदैनौ ?
तिमीभित्र सुतेको नेपालीलाई, किन तिमी जगाउँदैनौ ?
कहिले उठ्छौ जाग्छौ तिमी, के देश गुमाएपछि ?
अब त उठ, जाग नेपाली, जाग, उठ हो जाग !!