यूके-नेपाल व्यापार तथा लगानी मञ्च स्थापना

यूके-नेपाल व्यापार तथा लगानी मञ्च स्थापना


■ प्रकाश केसी, लण्डन

बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको ५ र १० अगस्ट २०२० मा लण्डनमा बसेको बैठकले संयुक्त अधिराज्यको हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष सम्माननीय लर्ड शेखको अध्यक्षतामा यूके—नेपाल व्यापार तथा लगानी मञ्च (UK-Nepal Trade and Investment Forum) गठन गरेको छ ।

उक्त फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहेका छन् । उक्त फोरमको महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहने भएका छन् । फोरमको संरक्षकमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी छन् ।

यही अगस्ट १० मा आयोजित उद्घाटन सभामा बोल्दै राजदूत डा. सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको बताए । यूके—नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्द्धनमा कोसेढुंगा सावित हुने विश्वास उनले व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै मञ्चका नवनिर्वाचित अध्यक्ष तथा वेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा वेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुऱ्याउन प्रतिबद्ध रहने बताए । लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्दै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसँग गराउँदै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानीसम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुऱ्याउने कार्यमा यो मञ्च प्रयत्नशील रहने जानकारी दिए ।

यूके—नेपाल व्यापार तथा लगानी मञ्चले आगामी सेप्टेम्बर महिनाको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्ने जनाएको छ ।